
दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो वडाबाट आगामी संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आफ्नै वडा व्यास ११ मुलपानीमा महिला संघले आयोजना गरेको एक कार्यक्रममा बाक्लो उपस्थितीकाबीच बोल्दै भट्टराईले आफ्नो १ नम्बर क्षेत्रमा कांग्रेसबाट संघको उम्मेदवार हुन चाहेको घोषणा गरे । ‘यो आफ्नो वार्ड पनि हो । अहिले धेरै काम गरेको छु, ‘ उनले भने, ‘यो क्षेत्र विकासको सबै जिम्मा म लिनेछु ।’
नयाँ विचार र योजना भएकालाई टिकट दिए तनहुँभर जित
देशैभर नयाँ अनुहारले चुनाव जित्ने प्रवृत्ति स्थानीय तह निर्वाचनमा देखिएको भन्दै उनले भने, ‘नयाँ मानिस, विचार, योजना र कार्यक्रमको खोजी देशले गरेको छ। देशका महत्वपूर्ण सहरमा स्वतन्त्र कामै नगरेका विजयी भएका छन् ।’
उनले कांग्रेसको झण्डा देशैभर फहराउन पनि नयाँ सोच, कार्यक्रम, योजना र दृष्टिकोण भएकालाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘पुरानालाई समानुपातिकमा अनि नयाँलाई उम्मेदवार बनाएर उनीहरुको संघर्ष, ज्ञान, क्षमता र समर्पण र त्यागलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
उनले नयाँ सोच, विचार, योजना अनि दृष्टिकोण भएकालाई पार्टीले टिकट दिएमा तनहुँका सबै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन सक्ने भन्दै कांग्रेस जिताउन लाग्नुपर्ने बताए ।