साक्षी बनिन् साइनिङ स्टार

  • ख-
  • ख+

दमौलीः प्रतिष्पर्धी २१ जनालाई पछि पार्दै साक्षी वाग्ले व्यास नगर साइनिङ स्टार २०२२ घोषित भएकी छन् । दमौली पार्टी प्यालेसमा शनिबार मध्यरात सम्पन्न प्रतिष्पर्धाको ग्राण्ड फिनालेमा विजयी साक्षी आठौं सिजनको ताज पहिरिन सफल भइन् । उनलाई सन् २०१९ की विजेता साराह श्रेष्ठले ताज पहिराइन् ।


प्रतियोगिताको फस्र्ट रनर अप सुश्रिना थापा तथा सेकेण्ड रनर अप दिलासा श्रेष्ठ घोषित भए । जेसिआई व्यास नगरको आयोजनामा सञ्चालित प्रतियोगिताका विजेतालाई व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने तथा क्लबका अध्यक्ष कृष्ण सुनारले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा विजेतालाई ताजसँगै नगद २५ हजार, फस्र्ट रनर अपलाई १५ हजार तथा सेकेण्ड रनर अपलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताकी विजेता साक्षीले ताज र नगद पुरस्कारसँगै बेस्ट प्रोजेक्ट वर्क, फस्र्ट रनर अप सुश्रिनाले बेस्ट ट्यालेण्ट तथा सेकेण्ड रनर अप दिलासाले बेस्ट स्माइल अवार्ड पनि पाए ।
यसैगरी, शिस्टा वंशी ठकुरीले बेस्ट र्याम्प वाक, सुभलक्ष्मी श्रेष्ठले बेस्ट कन्ट्रिब्युसन, प्रजिता श्रेष्ठले भ्युअर च्वाइस, स्तुती पोखरेलले मस्ट डिसिप्लिन्ड, सिमोन गौतमले बेस्ट ड्रेस, बिमर्श श्रेष्ठले बेस्ट पर्शनालिटी तथा मीनाक्षी बस्नेतले फोटोजेनिक अवार्ड पाए ।
प्रतियोगितालाई क्लबका ट्रेनिङ पुल चियर एवं पत्रकार पवन पौडेल तथा साइनिङ स्टार २०१३ विजेता दुर्गा भण्डारी र २०१९ विजेता साराह श्रेष्ठले सञ्चालन गरेका थिए ।


पर्यटनविद् हरिसिं गुरुङ तथा गायक रुपक डोटेल, करियोग्राफर रुपेशराज राना, पूर्व साइनिङ स्टार सबिना कार्की तथा पूर्व मिस टिन सम्मिलित निर्णायक मण्डलले नतिजा घोषणा गरेको थियो ।


कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बाल प्रतिभाको कदर गर्ने यस्ता कार्यक्रमको निरन्तरताका लागि क्लबलाई धन्यवाद दिंदै निरन्तर साथ दिने प्रतिवद्धता जनाए । क्लबका अध्यक्ष कृष्ण सुनारले नगर क्षेत्रका बालबालिकाको नेतृत्व क्षमता विकासका लागि क्लबले मञ्च प्रदान गर्दै आइरहेको बताए ।


क्लबका निवर्तमान अध्यक्ष लक्ष्मीभक्त खनालले सामाजिक सेवाका विविध क्षेत्रमा सक्रिय क्लबले बालबालिका उमेरदेखि नै नेतृत्व विकास तथा विविध सीप विकास गराउन प्रतियोगितालाई निरन्तरता दिएको बताए ।
मध्यरातसम्म चलेको प्रतियोगिताको निर्णय सुन्नका लागि अन्तिम समयसम्म पनि दर्शक, प्रतियोगि तथा अभिभावक बसेका थिए ।
क्लबले सन् २०१३ देखि प्रतियोगितालाई निरन्तर आयोजना गर्दै आए पनि कोभिडका कारण २०२० र २०२१ को प्रतियोगिता हुन नसके पनि अब प्रतियोगिता निरन्तर चल्ने महासचिव विरेन्द्र नरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी