
दमौली : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नालायक पाँच दलीय गठबन्धन लाई चुनावमा परास्त गर्नुपर्ने बताएका छन् । शुक्रबार दमौलीमा आयोजित एमाले जिल्ला कमिटी तनहुँको प्रशिक्षण कार्यक्रममा महासचिव पोख्रेलले उक्त कुरा बताएका हुन् । ‘अहिलेको पाँच दलीय गठबन्धनले प्रतिगमनको नेतृत्व गर्दैछ , समाजलाई संकटमा लाँदै छ, यसवाट बच्न र मुलुकलाई जोगाउन पनि पाँच दलीय गठवन्धनलाई हराउनु पर्छ,’ पोख्रेलले भने ।
‘कुनै समय माधव नेपाल एक व्यक्ति एक पद भन्दै कुर्लिए, प्रचण्ड एक व्यक्ति एक पद भन्दै कुर्लिए अहिले आफु अध्यक्ष पनि संसदीय दलको नेता पनि दुवै छन्, यसले पनि उनिहरूको आशय के रहेछ भन्ने स्पष्ट हुन्छ,’ पोख्रेलले भने ।
तत्कालीन समयमा नेकपालाई फुटबाट जोगाउन प्रचण्डको निवास पुगेर १९ बुँदे आरोप फिर्ता लिन र पार्टीलाई ऐकढिक्का बनाउन आग्रह गर्दा प्रचण्ड नमानेको पोख्रेलले स्मरण गरे ।

अदालतको निर्णय भन्दै राजनीतिक ब्याख्या गर्दा देश अस्थिरतामा गएको भन्दै पोख्रेलले अहिले पाँच दलिय गठबन्धनले मुलुकलाई संकटमा लाने काम गरेको बताए । ‘न सिद्धान्त मिल्छ न कुरा मिल्छ न उद्देश्य मिल्छ , मिल्छ त केवल स्वार्थ ! अहिलेको गठबन्धन त्यहि स्वार्थको झुण्ड हो,’ उनको भनाइ थियो ।
७०÷८० अर्ब बचतबाट फाइदामा रहेको अर्थतन्त्रलाई एक वर्षको अन्तरालमा अर्थतन्त्र पौने तीन खरब घाटामा पुर्याउने काम पाँच दलिय गठबन्धनले गरेको आरोप उनले लगाए ।
प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले पार्टीले देशव्यापी रूपमा प्रशिक्षण कार्यक्रम लाई अभियान नैं बनाएर चलाएको बताइन् । ‘चुनावमा अपेक्षाकृत नतिजा आउन सक्योकी सकेन ? गठबन्धन लाई तोड्न सक्यौं कि सकेनौं, विगतको भन्दा संख्या बढि भयो कि भएन !’
यी सबै कुरालाई समिक्षा गर्ने गरि बहस छलफल गर्ने र रहे भएका कमि कमजोरीलाई आगामि चुनावमा सुधारेर जानसक्नु पर्ने वातावरण बनाउन कार्यक्रम गरिएको उनको भनाइ थियो । सचिव अर्यालले स्थानीय चुनावमा तनहुँको हकमा पनि अपेक्षाकृत नतिजा आउन नसकेको बताइन् । तथापि एमालेले एक्लै महागठबन्धन लाई हराउन सफल भएको छ, यो मुख्य उपलब्धि हो र यसलाई जनतामा लान पर्छ अर्यालले भनिन् ।
विचारमा स्पष्ट भएर अगाडि बढेको पार्टी एमाले मात्रै भएको सचिव अर्यालको भनाइ थियो ।
कार्यक्रममा सांसद केदार सिग्देल, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, पुर्व सांसद टुकराज सिग्देल, केन्द्रीय सदस्य सविता रसाइली, प्रदेश सचिव धनन्जय दवाडी, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सचिव राजेश्वर ढकाल लगायतले आआफ्नो भनाइ राखेका थिए ।