दमौलीः दमौलीको सत्यवती माविले शिक्षकहरुको क्षमता अभिवृद्धि अभियानलाई तीव्रता दिएको छ । विगतमा आफ्ना विद्यालयमा कार्यरत शिक्षकको मात्रै क्षमता अभिवृद्धि गर्दै आएको विद्यालयले हाल तनहुँका अन्य विद्यालयका शिक्षकको समेत क्षमता अभिवृद्धि गराउन थालेको हो ।
यस क्रममा विद्यालयले शनिबार शिक्षकलाई क्षमता अभिवृद्धि तथा परिवर्तित पाठ्यक्रम, पाठ्य पुस्तक र विशिष्टीकरण तालिका आदिका बारेमा प्रशिक्षण दिएको थियो । आफ्ना विद्यालयको मात्रै नभई अन्य विद्यालयका शिक्षकहरु पनि लाभान्वित भई शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुगोस भनेर प्रशिक्षण दिइएको विद्यालयले जनाएको छ ।
यस अघि व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठ , गण्डकी प्रदेश शिक्षा निर्देशक अम्बिका आचार्य, शिक्षा विभाग उपसचिव डा. गणेशप्रसाद भट्टराई, व्यास नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख नविन पराजुली लगायतले प्रशिक्षण दिएका थिए ।