
काठमाडौंः १५ असार राष्ट्रिय धान दिवस । देशका धेरै भागमा आज रोपाईं उत्सव गरियो । कतिपयले सामाजिक सञ्जालमा आलोचना समेत गर्ने गरी देखावटी कार्यक्रम भएका गुनासा यसपाली पनि सुनिन छाडेनन् ।
सरकारले घोषणा गरेको दिवसमा एक दिनकै लागि भए पनि खेतमा पुगेर तस्बिर पोस्ट्याउने धेरै हुन्छन् । तर, देखाउनका लागि तस्बिर खिचाए पनि आज खेत रोपेका किसानलाई गोड्ने बेला मल पाइने हो कि होइन भन्ने चिन्ताले सताएको छ ।

अनि असार १५ का दिन किसानको त्यही पीडा बोकेर कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल तस्बिर खिचाउन खेत भन्दा किसानको चिन्ता बोकेर सिंहदरबार पसे ।
युवा किसान र विद्यार्थीका साथमा पुगेका उनले कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवसँग किसानले हरेक वर्ष पाउने समस्या समाधानका लागि पहल गर्न दबाब दिए ।
‘सरकारसँग अर्बौंको पैसा खर्च हुन नसकेर खातामा छ, तर किसानले खेतीका बेला कहिल्यै मल पाउँदैनन् । छिटो छरितो किसानलाई पुग्ने गरि मल खरिद् गरियोस्, ‘ उनले भने ।
पौडेलले तत्काल १० दिनमा ६७ हजार मेट्रिक टन मल चाहिने र मन्त्रालसयँग सोही प्रयोजनका लागि २७ अर्ब पैसा रहेको उल्लेख गर्दै भने , यो पैसाले साढे २ लाख टन मल किन्न सकिन्छ । तशर्थ समयमै किसानको संवेदनशिलता ख्याल गरेर असार मसान्त अगावै किसानको हातमा मल पुगोस् ।
पौडेलको कुरा सुनेका कृषि मन्त्रीले आफू चिन्तित रहेको रेडिमेड जवाफ दिए । फोटो खिचाउनकै लागि खेतमा नपुगेर खेतका किसानको पीडा बोकेर सिंहदरबार छिरेका पौडेलले पनि फोटो त खिचाए त्योभन्दा बढी किसानका पीडा लिएर दबाब अनि मार्ग पनि दिए । अब उनी अनि उनीमार्फत लाखौं किसानको दबाबले यसपाली काम गर्ला वा नगर्ला त्यसैमा कृषिप्रधान देशको यस वर्षको उत्पादन निर्भर रहनेछ ।