सय वर्षमा पनि तन्दुरुस्त कविराज कृष्णराजको रहस्य

  • ख-
  • ख+

दमौलीः तनहुँसुरे पण्डित खलक उसै पनि विद्वतमै पर्छ । तत्कालीन सेनवंशी राजाका पालादेखि दरबार नजिकै रहँदै आएको त्यस खलक पछि पनि देशको शासनसत्तालाई सेवा गर्दै आयो । पहिल्यैदेखि शिक्षामा अगाडि खलकका धेरैले राष्ट्रका विभिन्न क्षेत्रमा सेवा दिइसकेका छन् । आफ्नो सेवाका कारण यस क्षेत्र मात्र नभएर देशमै पनि कतिपय प्रख्यात छन् ।


तीमध्येको एक नाउँ हो, कविराज कृष्णप्रसाद पण्डित। र, उनी एक सय वर्ष पुगेका छन् ।
्साविक तनहुँसुरको सिम्पानीमा विक्रम सम्वत १९८० जेठ ९ गते जन्मिएका उनले लामो समय सरकारी आर्युवेद कविराजको रुपमा सेवा गरे । धेरैले कविराजका रुपमा चिन्ने उनले २००७ देखि २०४० सम्म धेरैको स्वास्थ्य सेवा दिए ।


त्यसपछि पनि व्यास १ गल्बुबेसीस्थित आफ्नै घरबाट यो सेवा जारी राखे । आफैं कविराज भएकाले उनी धेरैलाई स्वास्थ्य राम्रो राख्न सुझाव दिन्थे । बिरामी परेकालाई औषधी उपचार गर्थे । अनि स्वस्थ जीवनशैलीका कारण उनी यो उमेरमा पनि तन्दुरुस्त छन् । आँखा राम्रोसँग देख्छन् । मान्छे अझै चिन्छन् । यतिसम्म कि तीक्ष्ण श्रवणशक्तिका कारण टाढैबाट पनि आवाजले मान्छे चिन्न सक्ने क्षमता उनीसँग छ ।


सादगीपूर्ण खानपान गर्ने उनले गल्बुबेसीस्थित आफ्नो निवास टास्क भिलेज परिसरमा विभिन्न जडिबुटी र फलफूल लगाएका छन् । अनि त्यसकै सेवन र सादगीपूर्ण जीवनशैलीले उनलाई यो उमेरमा पनि तन्दुरुस्त राखेको हो । सय वर्ष मनाउन गरिएको कार्यक्रममा बिहानदेखि दिनभरको पूजा अनि आफन्तको भेटघाटमा पनि थकान महसुस नगरेका कृष्णप्रसादले आफ्नो तन्दुरस्ती प्रमाणित गरे ।


आफू सक्रिय छँदा गरेको सेवाभावका कारण घरभर सम्मानपत्रले घेरिएका कविराज आफ्ना छोराछोरीबाट राम्रो सेवा पनि पाइरहेका छन् । छोराहरु ध्रुवराज, केशरीराज, कल्याणहरु आफ्ना पिताको यो उमेरको स्वास्थ्य देखेर पुलकित छन् । बुबाको स्वास्थ्य र सक्रियता धेरै नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत हो, छोरा ध्रुवराज भन्छन् ।


सय वर्ष पुगेका कविराजलाई बधाई दिन टाढा टाढाबाट आएका आफन्त र सुभेच्छुकको चाहना उनलाई अझै तन्दुरुस्त र चिरञ्जिवी भएको देख्नै नै थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी