पौडेलको तनहुँ दौडधूपको अन्र्तयः संघीय निर्वाचनको तयारी ?

  • ख-
  • ख+

दमौलीः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल केही दिनयता तनहुँमै रहे । केन्द्रमा सत्तागठबन्धनमा दरार आउन लागेका अभिव्यक्तिहरु आइरहँदा पौडेल भने आफ्नै गृहजिल्लाका विभिन्न ठाउँमा भेटघाट र अवलोकनमा व्यस्त बने ।


व्यास नगरपालिकाका प्रतिनिधिलाई प्रशिक्षण, खानेपानीको निरीक्षणका अलावा टोल समूहले गरेको जनप्रतिनिधिको सम्मान कार्यक्रममा पनि उनी सहभागी बने । व्यास ८ स्थित आफ्नो वडामा समेत पुगेका पौडेलले सहिद गेट निर्माण अनि सडकका लागि बजेट पारेको अभिव्यक्ति दिए ।


स-साना कार्यक्रममा पनि बाक्लो सहभागीता र उनको यस पटकको जिल्ला बसाईलाई धेरैले भिन्न भिन्न अर्थ लगाएका छन् । तर, उनी जिल्ला आउनु अघि पौडेलको सचिवालयबाट विभिन्न योजनामा पौडेलको पहलमा बजेट परेको भन्दै सूची सार्वजनिक भएको थियो ।


तसर्थ यसपालीको पौडेलको जिल्ला बसाईलाई विभिन्न कोणबाट व्याख्या र अड्कलबाजी मार्न थालिएको छ ।

१) जिससको उम्मेदवार टुंग्याउनु
व्यास नगर कार्यपालिकाको निर्वाचनलगत्तै जिल्ला समन्वय समितिको निर्वाचन हुँदैछ । जिल्लाका धेरै भागमा आफूनिकटलाई टिकट दिलाउन सफल पौडेल जिल्ला समन्वय समितिमा पनि आफ्नो छनौटको व्यक्ति आउन् भन्ने चाहन्छन् ।

यसर्थ पनि समन्वयमा दावी राख्ने व्यास नगरपालिकाको कार्यपालिका सदस्यमा सम्भावित आकांक्षीको व्यवस्थापन र समितिको उम्मेदवार तोक्नु उनको जिल्ला बसाइको एक उद्देश्य थियो । जुन उनी जिल्ला छाड्नुपूर्व कार्यपालिकामा सर्वसम्मत उम्मेदवार चयन र समन्वयका लागि यस अघिकै प्रमुख शान्तिरमण वाग्लेको निरन्तरताको चर्चाले पूरा गरेको छ ।

२) बजेटको जस
पौडेलमाथि विकास नगरेको आरोप छ । र, पछिल्ला समय एमाले सांसदहरुले आफ्नो पहलमा बजेट पारेको भन्दै सार्वजनिक प्रचारप्रसार गर्ने प्रतिष्पर्धा छ । एमालेबाट नेकपा एस नेता हुँदै मन्त्री बनेका कृष्णकुमार श्रेष्ठ यो चर्चाको दौडमा अझै छन् ।

र, आफूमाथिको विकास नगरेको आरोप चिर्न पनि यसपाली बजेट सार्वजनिक भएको प्रचार गराएर पौडेल सम्बद्ध ठाउँमा आफैं पुगेका छन् । यसले आफूले विकासको काम गरिरहेको देखाउने पौडेलको चाहना देखिन्छ ।

३) आसन्न निर्वाचनको तयारी
कतिपयले आसन्न संघीय निर्वाचनमा पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने चर्चा गरिरहेका छन् । यस्तोमा निर्वाचनको मिति तोकिनु अघि देखि नै जिल्लामा सक्रियता देखाउने र विगतको हारलाई जितमा बदल्ने पौडेलको चाहना देखिन्छ । त्यसैले यसपालीको दौडमा उनले आफ्नो आधार बढाउने तथा असन्तुष्ट पक्षसँग पनि क्रमैसँग संवाद बढाउने रणनीतिमा देखिन्छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रपतिको आश्वासन दिएको चर्चाकाबीच पौडेल सकेसम्म प्रधानमन्त्री समेत हुन चाहन्छन् । र, त्यसका लागि आफ्नो जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएमा बल पुग्ने बुझाइ पौडेलको छ । तसर्थ पनि उनी समय छँदै दौडधूपमा व्यस्त देखिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी