व्याटमिन्टनमा चम्किएका सफल

  • ख-
  • ख+

खैरेनीटार : तनहुँका सफल भुजेल कलिलो उमेरमा नै ब्याटमिन्टन खेल मार्फत चर्चा कमाउन सफल छन् । शुक्लागण्डकी ७ भोटेपानीका भुजेल जिल्लाका विभिन्न क्षेत्रमा हुने प्रतियोगितामा आकर्षणका केन्द्र बन्दै आएका छन् ।

११ बर्षीय उनी पोखरामा सम्पन्न अन्डर १३ खुल्ला व्याटमिन्टन प्रतियोगितामा द्धितीय हुन सफल भएका छन् । जेठ १२ देखि आयोजना गरिएको प्रथम मोहन मेमोरियल अल नेपाल ईन्टर स्कुल व्याटमिन्टन प्रतियोगितामा देशभरका २६९ विद्यालयबाट सहभागि भएका प्रतिष्पर्धीलाई पछि पार्दै उनी द्वितिय भएका थिए ।

उनको सम्मानमा शुक्रबार खैरेनी माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरि सफलताको कामना गरेको छ । प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गरेर सफलता हासिल गरेको भन्दै खेलाडी भुजेललाई विद्यालय सम्मान गरेको हो । उनलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शुक्लागण्डकी ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, प्रधानाध्यापक बोधराज ढकाल, उनका प्रशिक्षक कमल थापा लगायतले सम्मान गरेका थिए ।

उक्त अवसरमा भुजेलका प्रशिक्षक थापाले सानै उमेरमा लोभ लाग्दो प्रगति गरेको भन्दै आगामी उनलाई अन्तराष्ट्रिय प्रतिष्पर्धाका लागि जापान पठाउने तयारी भईरहेको जानकारी दिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष थापाले भुजेलको सफलताले अन्य विद्यार्थीहरुलाई समेत प्रेरणा प्रदान गर्ने दावि गर्दै आफ्नो विद्यालयका विद्यार्थीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सक्नु गर्विलो विषय रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ढकालले राष्ट्रको गहनाको रुपमा भुजेलले आफ्नो उपस्थिति जनाएको भन्दै उनलाई शैक्षिक शुल्क मिनाहा गरेर विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जना गरिने बताए ।

जेठ १५ गतेसम्म पोखरा रंगशालामा आयोजना गरिएको प्रतियोगितामा देशभरका २७० विद्यालयका खेलाडीले सहभागिता जनाएका थिए । उनले पुरस्कार स्वरुप विभिन्न खेलकुद सामाग्रीहरु प्राप्त गर्न सफल भएका छन् । उनी जिल्लाका अधिकांश प्रतियोगितामा सफल हुदै आएका खेलाडी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी