साथीको उपचारमा ५ लाख रुपैंयाँ सहयोग

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिका ७ नरङ्गा निवासी ४० बर्षीय सोमबहादुर विक वैदेशिक रोजगारीको क्रममा संयुक्त राज्य अरब दुबईमा थिए । साहुको ऋण तिर्ने र परिवारलाई राम्रो शिक्षादिक्षा दिने सपना बनाएर दुबई गएका उनको ७ महिना अघिमात्रै दुईवटा नै मृगौलाले काम गर्न छाड्यो ।

दुबई हानिएको तीन महिनामा नै यस्तो भयावह अवस्था आएपछि विक निकै चिन्तामा गुज्रिए । यस्तो अवस्थामा रहेका उनलाई अस्पतालबाटै कम्पनीले बाटो खर्च दिएर घर फिर्ता गर्यो ।
दुबईमा सातामा तीन पटक डायलसिस गरेका सोमबहादुरलाई नेपालमा कहाँ कसरी उपचार गर्ने भन्ने कुनै जानकारी थिएन ।

घर आएपछि जेनतेन ऋण जुटाएर ४०÷५० हजार रुपैंयाँ जुटाएका उनले पोखराको किड्नि उपचार केन्द्रमा चर्को शुल्क तिरेर डायलाएसिस गरे । घरमा पहिल्यै लागेको करिब सात लाख रुपैंयाँ ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहेका उनले युके आर्मीमा कार्यरत सहपाठी साथी किसान परियारलाई फेसबुकमार्फत आफ्नो समस्याको सबै बेलिविस्तार लगाए ।

युके प्रहरीमा कार्यरत साथी परियारले सबै कुरा सुनें । साथी परियारले चिन्ता नलिन र आफूले सकेको केही गर्ने भन्दै सम्झाए । तीन महिना अघि साथ र हौसला दिएका साथी परियारले तनहुँ दमौलीमा रहेका आफ्ना दाजु अमृतमार्फत जेठ २० गते ५ लाख रुपैंयाँ पठाए र विकको हातमा नगदै थमाए । ‘मेरो लागि साथी परियारले ठुलो उपकार गर्नु भयो,’ विकले भने, ‘यो भन्दा ठुलो पुन्यको काम के नै हुन सक्ला र ? उहाँलाई धेरै धन्यवाद व्यक्त गर्दछु ।’

उक्त रकम हात परेपछि अब उपचार गर्न सकिन्छ की भन्ने आशा जागेको विकको भनाई छ । । रकम बुझ्दै मृगौलाका रोगी विकले विद्यालयमा सँगै पढेका साथी किसानले यतिका ठुलो रकम सहयोग गर्नुहोला भन्ने कल्पना पनि नगरेको बताए । १९ गते विहिबार मात्रै दमौली अस्पतालबाट डायलायसिस सेवा शुरु गरेका विकले उक्त रकम मृगौला प्रत्यारोपणमा खर्चिने सोंच बनाएको बताए । व्यास ७ को वडा कार्यालयमा कार्यक्रम गरी उक्त रकम वडा अध्यक्ष कृष्ण न्यौपाने र अमृत परियारले संयुक्त रुपमा विकलाई प्रदान गरेका थिए ।

रकम प्रदान गर्दै वडा अध्यक्ष न्यौपानेले साथीको लागि ५ लाख रुपैंयाँ सहयोग जुटाउनु सामान्य नभएको बताए । साथीको कर्तव्य पुरा गर्ने किसानलाई उनले धन्यवाद व्यक्त गरे । किसानका दाजु अमृतले सामाजिक कार्यमा भाई पहिल्यैदेखि जुट्ने व्यक्ति भएको जानकारी दिए ‘उहाँले यत्ति धेरै रकम पठाउनुहोला भन्ने सोंचेका थिएनौं ।’ मृगौलाका रोगी विककी श्रीमती मनुले भनिन, ‘उहाँ हाम्रो लागि भगवान नै हुनुभयो ।’

सयपत्री नेपाली सेवा समाज युके, विश्वकर्मा वेयलफेयर सोसाइटी युके, तीन दोभान तनहूँ समाज युके, बेलायती सेनामा कार्यरत इन्टेक ०३ मा कार्यरत प्रहरीहरुले ३३ सय पाउण्ड संकलन गरी पठाएको युकेमा रहेका किसानले फेसबुकमार्फत जानकारी दिए । आफू साथीको जीवन रक्षाको लागि जहिल्यै तत्पर रहने समेत उनले जानकारी दिए ।

मृगौलाका रोगी विकले आफूलाई सहयोग गरी जीवन रक्षा गरिदिन सवैमा आग्रह गरेका छन् । उनले सोमबहादुर विकको नाममा कुमारी बैंक दमौली शाखामा रहेको खाता नम्बर ०१४०१०७१९१२००००१ मा रकम जम्म गरिदिई आफ्नो जीवन रक्षा गरिदिन सबै मनकारीहरुमा आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी