धनगढीको गेटामा ३ सय शैयाको अस्पताल तत्काल सुरु हुने

  • ख-
  • ख+

काठमाडौं : सुदूरपश्चिम प्रदेशको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३ सय शैयाको अस्पताल यसैबर्षदेखि संचालनमा आउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उदेश्यले एक दशक अघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गर्नुभएको थियो । गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक बर्षमा ३ सय शैयाको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिईसक्नु भएको छ ।

प्रधानमन्त्रीको निर्देशन अनुसार यसै आर्थिक बर्षदेखि अस्पताल सुरु हुन लागेको हो । कांग्रेस नेतृ एवं कांग्रेस केन्द्रिय सदस्य डा. आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा.रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा.प्रमोद जोशी सदस्यसचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल संचालनको कार्ययोजना तयार गरेको थियो ।

उक्त कार्ययोजनाकै आधारमा तत्काल ३ सय सैयाको अस्पताल संचालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । ‘हामीले गेट मेडिकल कलेजको स्थलत गत अध्ययन गरेर कसरी छिटो भन्दा छिटो अस्पताल संचालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौ, सोही आधारमा यसै बर्षदेखि ३ सय शैयाको अस्पताल संचालन हुने भएको हो’, डा.जोशीले भने । मेडिकल कलेज संचालनका लागि कम्तिमा ३ सय शैयाको अस्पताल ३ बर्षसम्म संचालन भएको हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार यस बर्षदेखि अस्पताल संचालन गरिने भएको हो ।

उक्त समितिले ७५ विगा जमिनमा फैलिएको अस्पतालमा ढल, विजयली र पानीको तत्काल प्रवन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो । सोही सुझावका आधारमा आवस्यक सबै कामहरु यसै आर्थिक बर्षको सुरुदेखि अघि बढाइने भएको हो । गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो । भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल संचालन गर्न नेतृ राणा विगत एक बर्षदेखि पहल गर्दै आउनु भएको छ । राणाकै पहलमा यसै आर्थिक बर्षको बजेटमा अस्पताल संचालनका लागि माग भए अनुसारको २ अर्ब रुपैया बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ ।

गेटा मेडिकल कलेज संचालनमा डा. देउवाले पटक पटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल ३ सय शैयाको अस्पताल संचालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । कम्तिमा ३ सय शैया रहनेगरी तत्काल अस्पताल संचालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषदमा पेश गरेको प्रस्ताव छलफल भई स्विकृत गरी सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गर्नु भएको थियो ।

सरकारले गेटा अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सृजना पनि गरेको छ । त्यसका साथै अन्य आवस्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ । स्थानीय चुनावका कारण कार्यकारी निर्देशक नियुक्त लगायतका प्रक्रिया रोकिएपनि अब केही हप्तामै कर्मचारी नियुक्ती गरेर अस्पताल संचालन हुने बताइएको छ ।

‘यसै आर्थिक बर्षदेखि गेट मेडिकल कलेज ३ सय शैयाको अस्पताल संचालनमा आउँछ’, स्वास्थ्य सचिव डा. पोखरेलले भने । गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० बर्षदेखि सुरु भएको थियो । भौतिक पुर्वाधार सम्पन्न भएपछि डा. देउवाको अगुवाईमा अस्पताल संचालन हुन लागेको हो । प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज संचालन गर्ने सरकारको नीति अनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो । गेटा सुरु भए लगत्तै सुदूरपश्चिम क्षेत्रका सयौले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एउटा फड्को मार्ने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी