व्यासका वडाध्यक्षः जो दोहोरिएर अनुमोदित भए, जो हारे

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकामा तीन वडाध्यक्ष दोहोरिएर पनि चुनाव जितेका छन् । नगरपालिकामा पहिले वडाध्यक्ष रहेका मध्ये व्यास १३ का लेखबहादुर रानाबाहेक सबै वडाध्यक्ष सोही पदमा दोहोरिने गरी आकांक्षी थिए ।


अधिकांशले वडा र नगर समितिमा आकांक्षासहित नाम दिएका थिए । तर, धेरै वडाध्यक्ष दोहोरिंदा चुनाव नजितिने र असन्तुष्टलाई समेत व्यवस्थापन गर्न भन्दै कांग्रेसका तर्फबाट मेयर टिकटका दावेदार बैकुण्ठनाथ न्यौपाने आफैंले हस्तक्षेप गरे ।

जसकारण चार वडामा मात्र पुराना वडाध्यक्षले टिकट पाएका थिए । चारमध्ये तीन जनाले जित प्राप्त गरे भने एक पराजित हुनुपर्यो ।

१) काजिमान श्रेष्ठ
दोहोरिएर जित्ने मध्येमा काजिमान श्रेष्ठ दोहोरिने धेरैको अनुमान थियो । अध्यक्षका रुपमा उनले गरेको काम अनि लोकप्रियताका कारण मेयर उम्मेदवारलाई मतान्तर बढाउन र वडामा सहज जितका लागि भन्दै उनलाई पार्टीले टिकट दियो ।
र, उनले फराकिलै मतान्तरले चुनाव जिते पनि । आफ्ना पक्षमा सात सय २६ मत हुँदा उनका प्रतिष्पर्धी एमालेका नुरबहादुर आलेले तीन सय ४२ मत पाए । तीन सय ८४ मतले उनले पाएको जित व्यासमा दोहोरिएका वडाध्यक्षमध्ये प्रतिशतका हिसाबले अधिकमै पर्छ ।

२) काशिराम श्रेष्ठ
पुराना राजनीतिज्ञ मोतिकुमार श्रेष्ठका पुत्र काशिराम कुनै समय मेयरका लागि समेत दाबेदारी राख्थे । तर, पार्टीमा अधिक आकांक्षी भए पछि उनले केही अघि नै त्यो आकांक्षा त्यागे । अनि वडाध्यक्षमै दोहोरिने चाहना राखे ।


व्यास २ मा देखिएको नेवार होल्डका कारण अरु जातिलाई टिकट दिंदा पहिल्यैको चुनावमा पनि वडामा कमजोर मत ल्याएका नगर प्रमुख उम्मेदवार न्यौपानेले नेवार अनि पकड भएका काशिरामलाई नै रोजे ।


र, बागी उम्मेदवारका बावजुद काशिरामले सहज जित प्राप्त गरे । उनले आठ सय २ मत पाउँदा प्रतिष्पर्धी बागी उम्मेदवार राजकुमार श्रेष्ठले भने तीन सय ९० मत पाए । चार सय १२ मतान्तरले अन्ततः काशिराम व्यास २ को वडाध्यक्षमा दोहोरिए ।

३) सुरेश थापा
व्यास ९ का वडाध्यक्ष सुरेश थापा पनि दोहोरिन पाउने भाग्यमानी नेतामध्ये पर्छन् । व्यासमा निकै सुविधाजनक जित पाउने वडाध्यक्षमा परेका उनले पाएको मतले उनको लोकप्रियता देखाउँछ ।

उनले एक हजार दुई सय छ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका भक्तबहादुर गोदारले तीन सय ४२ मत मात्र पाए । आठ सय ६४ मतको फराकिलो अन्तर व्यासमा विजयी वडाध्यक्षमध्ये अधिक हो ।

र, त्यो हार
तीन जनाले जित्दा एक वडाध्यक्ष भने पराजित हुनु परेको छ । व्यास ७ का वडाध्यक्ष उम्मेदवार शतिसचन्द्र न्यौपानेले भने हार बेहोर्नुपर्यो । नगर प्रमुखका आलोचक मानिने पुराना राजनीतिज्ञ न्यौपानेले आफ्नै दलबाट सोचेजस्तो मत पाउन सकेनन् ।

र, त्यही उनको हारको कारण बन्न पुग्यो । दोहोरिन चाहेर टिकट समेत पाए पनि उनले आफ्नै आफन्त एमालेका उम्मेदवार कृष्णप्रसाद न्यौपानेसँग थोरै मतल ेहार्नुपर्यो । सतिशले छ सय ९१ मत पाउँदा विजयी एमालेका कृष्णप्रसादले सात सय २१ मत पाए । ३० मतको सानो अन्तरले वडाध्यक्षका रुपमा दोश्रो कार्यकाल दोहोर्याउने सतिशचन्द्रको चाहनामा ब्रेक लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी