अयोग्यलाई टिकट दिइएको भन्दै संगठन विभाग प्रमुख बाँस्तोलासहित ७ द्वारा राजीनामा

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँका संगठन विभाग प्रमुख विश्व बाँस्तोलासहित सात नेताले पार्टी पदबाट राजीनामा घोषणा गरेका छन् ।

व्यास नगरपालिकाको मेयरका दावेदारसमेत रहेका पूर्व सचिव बाँस्तोलाले यसपाली नगरमा नयाँ अनुहार आउनुपर्ने भए पनि त्यसो हुन नसकेको भन्दै अब राजीनामा गरेर स्वतन्त्र जीवन बिताउने बताए ।

आफूले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग हालका प्रमुख उम्मेदवार वैकुण्ठ न्यौपाने असफल भएको भन्दै नेतृत्व परिवर्तन गर्दै आफूलाई साथ दिन आग्रह गरे पनि आफूनिकटलाई मात्र टिकट दिएको बताए । उनले अहिलेकै अवस्थामा दमौलीमा परिवर्तन सम्भव नभएको भन्दै यहाँ दास मनोवृत्ति हावी भएको जिकिर गरे ।

अरु कुनै पार्टीमा नगए पनि सामाजिक रुपमा भने सक्रिय रहने उनले बताए । विगतमा व्यास नगरको सभापति पदमा समेत उम्मेदवार रहेका बाँस्तोला हाल भने संगठन विभाग प्रमुखमा थिए ।


सोही कार्यक्रममा पदबाट राजीनामा घोषणा गरेका प्रवक्ता महेश्वर भट्टराई, शुक्लागण्डकी नगर सचिव दीपेन्द्र पौडेल, व्यास नगरका नेता चुडामणि दाहाल, दीर्घ थापालगायतले पार्टीले टिकट वितरणमा योगदान दिएको भन्दा आफ्ना नजिककालाई दिएको भन्दै पार्टीमा नरहेको घोषणा गरे ।


भट्टराईले शुक्लागन्डकीको मेयरमा, शुक्लागण्डकी नगर सचिव पौडेल तथा नेता दाहालले व्यास १ बाट स्वतन्त्र उम्मेदवारी समेत घोषणा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्