स्थानीय विकास कांग्रेसले थालेको हो, अब कांग्रेसले नै समृद्धि ल्याउँछः भट्टराई

  • ख-
  • ख+

भानुःनेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशमा अहिले देखिएको स्थानीय तहको विकास कांग्रेसकै पालामा भएको दावी गरेका छन् ।

तनहुँको भानु १० रामपुरेटारमा आयोजित चैते दशैं तथा रामनवमी मेला कार्यक्रमको उद्घाटन गर्दै कांग्रेसको युवा प्रचार केन्द्रीय नेटवर्कका संयोजक समेत रहेका भट्टराईले २०४८ सालपछि कांग्रेसले स्थानीय निकायमार्फत विकास अघि बढेको र अहिले स्थानीय सरकार पनि कांंग्रेसकै पहलमा बनेको बताए ।

गाउँमा अहिले देखिएका बाटो, पानी ल्याउने तथा विकासको खाका कोर्ने पार्टी भएकाले अब देशलाई समृद्धिमा लैजान पनि कांग्रेसकै काँधमा नेतृत्व जानुपर्ने उनले बताए । उनले देशैभर कांग्रेसको नेतृत्वमा भएका तहमा विकास र पारदर्शीपन भएको जिकिर समेत गरे ।

यसपालीको स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्दै उनले विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी कांग्रेस नै भएको बताए ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि आनन्दाराज त्रिपाठी, भानु १० का वडाध्यक्ष गोविन्द शिलवाललगायतले पनि बोलेका थिए ।

कालिमाटी रामपुरेटार बजार व्यवस्थापन समितिका अध्यक्ष नवीन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा भट्टराईले भलिबल प्रतियोगितामा विजेता राजधानीको हिमालयन सर्भिसेज प्रालि तथा उपविजेता आँबुखैरेनी गाउँपालिकाको टिमलाई पुरस्कार वितरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी