
एक घर एक धारा प्रदेश सरकारको अभियान – मन्त्री चर्तिमगर
म्याग्देः गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री दीपक चर्ति मगरले एक घर,एक धारा प्रदेश सरकारको अभियान भएको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ स्थित झ्यालगैह्रा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको उद्घाटन गर्दै मन्त्री मगरले सो कुरा बताएका हुन् ।
जनतालाई पानी नपाएर काकाकूल बन्नुपर्ने अवस्था आउन नदिन प्रदेश सरकारले नीति नै बनाएर अघि बढेको मन्त्रीले बताए । खानेपानीबाट कोही बञ्चित हुनुपर्ने छैन् ,मन्त्री मगरले भने स्वच्छ खानेपानी पिउन पाउनु नागरिकहरुको नैसर्गिक अधिकार हो ।
संघीय सरकारको १ करोड ४६ लाख ४९ हजार ५४९,प्रदेश सरकारको सोलारको लागि रु.४० लाख ८७ हजार ५६,सोलार क्षेत्र तारबारको लागि ३ लाख ४२ हजार १६८ र स्थानीय श्रमदान रु.६० लाख २५ हजार ६०६ गरी कूल २ करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना सम्पन्न भएको हो । उक्त आयोजनाबाट त्यस वडाका १३९ घरधुरीका बासिन्दाहरु लाभान्वित भएको लिफ्ट झ्यालगैह्रा खानेपानी समितिका अध्यक्ष मनबहादुर थापाले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , म्याग्दे २ का अध्यक्ष चन्द्रबहादुर रानाभाट , नेपाली काङ्ग्रेसका मनबहादुर मगर , नेकपा माओवादिका सम्भुबहादुर अधिकारी , एसवि थापा मगर , ईश्वर काफ्ले , विशाल थापा तथा जग्गादाता शिवसँकर काफ्लेले बोलेका थिए ।