रेडक्रस अन्तर्राष्ट्रिय महासचिवको प्रधानमन्त्रीसँग भेट

  • ख-
  • ख+

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गरेका छन ।

भेटमा उनीहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईँले अलग–अलग भेटवार्ता गरेका थिए । ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईँले जानकारी दिए ।

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग महासचिव चापागाईँले बुधबार भेटवार्ता गरेका थिए। आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वाेच्च परोपकारी संस्था आइएफआरसीका प्रथम नेपाली महासचिव चापागाईँ मङ्गलबार साँझ यहाँ आइपुगेका हुन । नेपाल भ्रमणका क्रममा उनले यहाँस्थित आइएफआरसी र नेपाल रेडक्रसका गतिविधिका बारेमा जानकारी लिने क्रम जारी राखेका छन। उनले भने, “नेपाल रेडक्रसमा देखिएका समस्या मिलेर समाधान खोज्नुपर्छ । अगामी दिनमा रेडक्रलाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्न रेडक्रस कानुन जारी गर्नु आवश्यक छ । यसका लागि नेपाल सरकारलाई आइएफआरसीले आवश्यक सहयोग पुयाउँछ ।”

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील ५२ वर्षीय उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन । सो जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल भ्रमण रहेको बताइएको छ । विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उनलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो । बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् ।

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी पछिल्ला दिनमा कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटिरहेका छन् । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ । महासचिव चापागाईँले मानवीय सेवाका क्षेत्रमा पुयाएको काम तथा नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ।

नेपाल रेडक्रसका अनुसार आइएफआरसीले कोभिड–१९ को सुरुआती चरणमा कोभिड उपचारका लागि स्वास्थ्य संस्थामा उपकरण तथा स्वास्थ्यकर्मीका क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई, मास्क, स्यानिटाइजर सहयोग गरेको थियो भने पछिल्लो चरणमा अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, थर्मलगन, शव व्यवस्थापनका लागि झोलालगायतका सामग्री तथा खोपका लागि समन्वयसमेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी