
दमौली: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनरत डा. गोेविन्द केसीको पक्षमा दमौलीमा प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपाल तनहुँको आयोजनामा दमौली ट्राफिक चोकमा कार्यक्रम गर्दै विभिन्न प्ले कार्डहरु प्रदर्शन गरिएको हो ।
दमौलीका विभिन्न युवा क्लब तथा सामाजिक संघ संस्थाले ऐक्यवद्धता जनाएको कार्यक्रममा सहभागीले केसीको जीवन रक्षा गर, दुर दराजमा मेडिकल शिक्षा खै लगायतका नारा समेटिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
दमौली ट्राफिक चोकबाट सफा सडकसम्म सडक छेउ उभिएका सहभागीले मौन रुपमा उभिएर प्ले कार्ड प्रदर्शन गरेका थिए ।

पटक पटक गरी १९ पटकसम्म सत्याग्रह गरेका चिकित्सक केसी फेरि पनि अनशनमा बसे पनि उनका माग पुरा गर्न सरकारले गम्भीरता नदेखाएको भन्दै दबाब दिन कार्यक्रम गरिएको बताए । ‘डा केसीका पक्षमा दबाब दिन आन्दोलन गरेका हौं,’ उनले भने,‘माग पुरा नभए फेरि आन्दोलनमा उत्रन्छौं ।’

युवाको अनशन २४ घण्टा थपियो
डाक्टर गोविन्द केसीका पक्षमा पक्षमा अनशनमा उत्रिएका दमौलीका दुई युवाले २४ घण्टा अवधि थपेका छन् ।
शुक्रबार १९ औं पटकको अनशनका लागि ऐक्यबद्धता जनाउँदै दमौली ट्राफिक चोकमा अनशन बसेका सागर घिमिरे र विनोद सापकोटाले केसीका मागमा अझै सरकार गम्भीर नभएको भन्दै अनशनको अवधि थप गरेका हुन् ।

शुक्रबार विहान ११ बजेबाट अनशन बसेका उनीहरुको अवधि शनिबार विहान ६ बजे सकिंदै थियो । तर शनिबार विहानबाट फेरि २४ घण्टा अवधि थप गर्ने निर्णय गरेको घिमिरेले बताए । ‘हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाउनेहरु बढिरहनुभएको छ,’ उनले भने,‘थप दबाब दिन एक दिन समय थपेका हौं ।’

