
दमौलीः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत आज तनहुँमा क्षेत्रीय पदाधिकारी चयनका लागि मतदान हुँदैछ । क्षेत्र नम्बर १ का लागि तनहुँको दमौली र क्षेत्र २ का लागि बेलचौतारामा मतदानमार्फत नेतृत्व चयन हुँदैछ ।
दुवै क्षेत्रमा नेतृत्वका लागि प्यानल खडा गरेर दुई समूह प्रतिष्पर्धामा छन् । क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदका लागि विश्व बाँस्तोला र श्याम मौरती तथा क्षेत्र २ मा कृष्णराज पण्डित र चुडामणि खनाल मैदानमा छन् ।
बिहान १० बजेबाट शुरु मतदान प्रक्रिया दिउँसो ४ बजेसम्म दुवै क्षेत्रमा जारी रहने कांग्रेस जिल्ला कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।
क्षेत्र १ का सभापति उम्मेदवार बाँस्तोलालाई केन्द्रमा संस्थापन समूहको साथ छ भने मौरतिलाई संस्थापन समूहको साथ छ ।
यसैगरी, क्षेत्र २ का सभापति उम्मेदवार कृष्णराज पण्डितलाई केन्द्रमा गैर संस्थापन तथा चुडामणि खनाललाई केन्द्रमा संस्थापनको साथ छ ।
दुवै समूह सबै पदमा प्यानल लिएर अघि बढेका छन् । केही पदमा भने सर्वसम्मति भएको छ । पवित्रा पौडेल क्षेत्र १ को खस आर्य महिलातर्फ सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । बाँकी पदमा भने आज हुने मतदानले टुंगो लगाउनेछ ।
नेताहरु गुट जिताउन सक्रिय
क्षेत्र १ र २ को यस अघिको प्यानल प्रतिष्पर्धा हेर्दा दुवैतर्फ केन्द्रीय नेताहरु नै गुट जिताउन सक्रिय छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदीप पौडेलले गैर संस्थापन तथा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले संस्थापन समूहको नेतृत्व गरिरहेका छन् ।