दशैंमा भेजका लागि यी परिकार खानुस्

  • ख-
  • ख+

पनिर बटर मसला

सामग्री : पनिर आधा केजी, गरम मसला ३ ग्राम, अदुवा र लसुनको पेस्ट एक चिया चम्चा, गेडा जिरा आधा चमच, प्याज काटेको एकवटा, तेल दुई चिया चमच, मसिनो गरी काटेको गोलभेडा २ पिस, टमेटो पिउरी आधा कप (१२५एमएल), जिरा धनिया र खुर्सानीको धुलो आधा-आधा चिया चम्चा, गरम मसलाको धुलो आधा चिया चम्चा, धनिया आधा मुठा, कसुरी मेथीको धुलो आधा चिया चम्चा, कुकिङ क्रिम आधा कप, काजुको पेस्ट ३ चिया चम्चा, बटर दुई चिया चम्चा, नुन मरिच स्वादअनुसार, मह या चिनी आधा चम्चा।

विधि : बाक्लो खालको कराइ या प्यान तताउनुस्, तेल हालेर होल गरम मसला फुराउनुस्। अदुवा लसुनको पेस्ट हाल्नुस र इन्डियन सम्पूर्ण मसला हालेर सानो आचमा भुट्नुस्। केही समयपछि गोलभेडा र गोलभेडाको पिउरी, काजु पेस्ट हालेर मज्जाले पकाउनुस्। नुन मरिच स्वादअनुसार हाली डाइस काटेको पनिर खन्याइदिनुस र अरू १० मिनट पकाएर क्रिम, बटर हालिदिनुस्। अन्तमा हरियो धनिया, कसुरी मेथी, मह हालेर निकाल्नुस। तपाईंको स्वादिष्ट पनिर बटर मसला तयार भएको छ। अब तात्तातो रोटी या पुलाउसँग खान सक्नुहुन्छ। पनिर बटर मसलालाई सीधै रेडग्रेभीमा पनि बनाउन सकिन्छ।

मिक्स भेज बिर्यानी

सामग्री : डाइस काटेको पनिर आधा केजी, मसरुम ३०० ग्राम, हरियो केराउ १२० ग्राम, गाजर डाइस काटेको १०० ग्राम, काउली या ब्रोकाउली १५० ग्राम, तेल ६० एमएल, होल गरम मसला ६ ग्राम, जिरा गेडा आधा चिया चमच, अदुवा लसुनको पेस्ट एक र आधा चिया चमच, प्याज २५० ग्राम, बेसार आधा चिया चम्चा, जिरा धनियाको धुलो एक चम्चा, गरम मसलाको धुलो आधा चिया चम्चा, दही डेढ कप, धनिया एक मुठा, पुदिना एक मुठा, फ्राइ प्याज १५० ग्राम, ड्राइनट्स ९० ग्राम, केसर आधा चिया चम्चा, गुलाब जल ५ एमएल, घ्यू या बटर १२०ग्राम, लामो बासमती बिर्यानी चामल एक किलो, नुन मरिच स्वादअनुसार।

विधि : आधाभन्दा बढी होल गरम मसला हालेर २ लिटर पानी उमाल्नुस् र पखालेर चामल ओइराइदिनुस्। ठूलो आचमा चामललाई ७५ प्रतिशत पाक्ने पकाउनुस् र छान्नुस्। त्यतिन्जेल कराइमा तेल हालेर दहीसहितको भेजिटेबल ग्रेभी बनाउनुस् र पाकेको मिक्सभेज ग्रेभीलाई साइड लगाइराख्नुस्।

७५ प्रतिशत पाकेको चामलको चार भागमा एक भाग डेक्ची या कसौडीमा हाल्नुस् र भेजग्रेभीको तीन भागको एक भाग हालिदिनुस्। फ्राइ गरेको ब्राउन ओनियन, केसर, धनिया, पुदिना, घ्यू अली-अली हालेर फेरि राइस हालेर छोपिदिनुस्। एकै तरिकाले तीन तह पूरा हुनासाथ माथिबाट घ्यूमा भुटेको काजु किसमिस, बदाम नरिवल, घ्यू, केसर, पुदिना, धनिया, गुलाबजल, भुटेको प्याज हालेर टाइट हुनेगरी छोपिदिने र सानो आचमा २० मिनेट पकाउने र पाकेपछि राइता सलादसँग स्वादिष्ट भेज बिर्यानी खान सकिन्छ।

फलदारी कोफ्ताकरी

सामग्री : उसिनेको आलु ५०० ग्राम, ग्रेट गरेको पनिर ३०० ग्राम, काचो केरा उसिनेर मुछेको २०० ग्राम, बेसन एक कप, तेल ४० एमएल, होल गरम मसला ३ ग्राम, अदुवा लसुनको पेस्ट १५ग्राम, जिरा गेडा आधा चिया चम्चा, मसिनो गरी काटेको प्याज ६० ग्राम, गेलभेडा ४० ग्राम, गरम मसलाको धुलो आधा चिया चम्चा, बेसार आधा चिया चम्चा, जिरा धनीयाको धुलो एक-एक चिया चम्चा, खुर्सानीको धुलो एक चिया चम्चा, नुन मरिच स्वादअनुसार, हिङ आधा चिया चम्चा, काजु या मगजको पेस्ट आधा कप, टोमेटो पिउरी आधा कप, धनिया एक मुठा, बटर दुई चिया चम्चा, कुकिङ क्रिम आधा कप, ड्राइनट २० ग्राम, रेडचेरी एक पिस।

विधि: आलु, पनिर, गाजर, चप गरेको ड्राइनट, उसिनेको काँचो केरा, अदुवा लसुनको पेस्ट एक चम्चा, सिजिनिङ बेसन हालेर गोलो-गोलो गुच्चाकार कोफ्ता बनाई तातेको तेलमा फ्राइ गर्ने र ब्राउन गरी एक साइडमा राख्ने। अर्को कराइमा तताएर तेल हाली गरम मसला र जिरा फुराउँदै ग्रेभी बनाउने र अन्तमा क्रिम, बटर हिङ हाली चलाउने। फ्राइ गरेको कोफ्ता ग्रेभीमा हाली दुई मिनट उमाल्ने र अन्तमा धनिया हालेर रोटी या सादा भुजासँग सर्भ गर्ने।

च्याउको छोइला

सामग्री : फ्रेस या क्यानको च्याउ आधा केजी, पोलेको अदुवा लसुन २५ ग्राम, सुकेको खुर्सानी ४ पिस, भुटेको तोरिको तेल २ चिया चम्चा, हरियो खुर्सानी २ पिस, धनिया हरियो एक मुठा, पोलेको टमाटर २ पिस, कागतीको रस ५ एमएल, टिमुरको धुलो आधा चिया चम्चा, मेथी आधा चिया चम्चा, बेसार आधा चिया चम्चा, हरियो लसुन या प्याज २ पिस, जिराको धुलो आधा  या चम्चा, नुन स्वादअनुसार।

विधि : च्याउलाई बोइल गर्नुस् र पानी निचोरेर ग्यासको प्लेममा जालिमा राखेर पोल्नुस् र एक साइडमा राख्नुस्। अदुवा लसुन र सुकेको खुर्सानीलाई हल्का पोलेर भुटेको तोरिको तेलमा हालेर ब्यान्ड गर्नुस् र च्याउमा हाल्नुस्। बाँकी सम्पूर्ण सामान हालेर मुच्छनुस्। एक चम्चा तोरीको तेल तताएर मेथी डढाउनुस् र बेसार हालेर च्याउमा झान्नुस्।

यसरी च्याउ छोइला तयार हुन्छ। च्याउ छोइलाजस्तै पनिर, तोफु, मस्यौराको पनि स्वादिष्ट छोइला बनाएर स्न्याक्सको रूपमा खान सकिन्छ। च्याउ चिल्ली, पनिर चिल्ली, तोफु चिल्ली, आलु चिल्ली पनि भेज खानेका लागि स्न्याक्सको रूपमा बनाएर पस्किन सकिन्छ। दसैंका लागि मिठाइमा गाजरको हलुवा, सेलरोटी, काजुको बर्फी, गुलाब जामुन, दूधबरी, रसमलाई, कुराउनी बनाउन सकिन्छ।

(होटल सोल्टीका वरिष्ठ सेफ आरबी बुढाथोकीद्धारा लिखित सामग्री काठमाडौं प्रेस डट कमबाट साभार गरिएको हो )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी