
दमौलीः दुवै मृगौला फेल भएर उपचारका लागि आर्थिक श्रोतको खोजी गरिरहेका व्यास १४ केशवटार निवासी सन्तोष रानाको उपचारका लागि अमेरिकाबाट मात्र पौने ७ लाख संकलन भएको छ ।
केशवटार घर भै हाल अमेरिकाको टेक्ससमा रहेका गायक भीम थापा तथा केशवटारकै आशिष थापा र कुलदीप रानाको सक्रियतामा सञ्चालित अभियानका क्रममा उपचारका लागि ठूलो आर्थिक श्रोत जुटेको हो ।
जुममार्फत सांगितिक कार्यक्रम समेत गरेर सन्तोषका लागि कार्यक्रम गरिएकामा हालसम्म ५४ सय ८१ डलर आर्थिक सहयोग संकलन भएको थापाले जानकारी दिए । हालको नेपाली मूल्य अनुसार रकम ६ लाख ४४ हजार हुन आउँछ ।
रानाको उपचारका लागि टेक्ससबाट मात्र २८ सय डलर संकलन भएको छ । यसैगरी, मगर एसोसिएसन अमेरिकाका अध्यक्ष कुलदीप राना र आशिष थापाको संयोजकत्वमा न्यूयोर्कबाट २६ सय ८१ डलर संकलन भएको छ ।
सहयोगदाताले उल्लेख्य सहयोग गरेर सन्तोषको जीवनरक्षामा सघाएको भन्दै हालका लागि सहयोग संकलन अभियान रोकिएको थापाले जानकारी दिए ।