व्यासको तयारीः एउटा कोठामा २५ जना राखेर पठनपाठन

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाले शिक्षा सहजीकरण निर्देशिका तयार पारेको छ । प्रस्तावित निर्देशिकाले विद्यालय सञ्चालनको अन्यौललाई चिर्ने दाबी नगरपालिकाको छ ।

सरकारले वैकल्पिक शिक्षाका लागि विभिन्न विकल्प दिए पनि सबैमा त्यो सम्भव नभएको भन्दै सञ्चालकहरुले भौतिक रुपमा सञ्चालनमा जोड दिंदै आइरहेका छन् । यस्तोमा नगरपालिकाले आफ्नै निर्देशिका तयार पारेर लामो समय बन्द सामुदायिक तथा निजी विद्यालयमा पठनपाठनको बाटो खुलाउन लागेको हो ।

मंगलबार नगरपालिकाले निजी तथा सामुदायिक विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग बेग्लाबेग्लै बैठक गरी नगरपालिकाले प्रस्तावित निर्देशिकाबारे जानकारी दिएको हो ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले निर्देशिकाका बारेमा बैठकमा जानकारी गराएका थिए ।

निर्देशिकामा स्वास्थ्यका मापदण्ड तयार पारेर भौतिक दूरीसहित पठनपाठन सञ्चालन गर्न दिने उल्लेख छ । एउटा कोठामा बढीमा २५ जनासम्म राखेर भौतिक उपस्थितीमा सबै कक्षा सञ्चालन गर्न दिने प्रस्तावित निर्देशिकामा छ ।

एक सिफ्टमा बढीमा डेढ सय विद्यार्थी

निर्देशिकामा एक दिन वा सिफ्टमा अधिकतम डेढ सय जनासम्म मात्र विद्यार्थी राख्न पाइने कुरा प्रस्ताव गरिएको नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी दिए । दिनमा चार वा पाँच पिरियडभन्दा नबढ्ने गरी पठनपाठन नियमित गराउने गरी तयारी गरिएको छ ।

नगरपालिकाले सबै तहका कक्षामा पठनपाठन गर्न दिने योजना बनाएको छ । ‘कोठामा राख्ने संख्या र सिफ्टको संख्यामा कडाई गरेर सबै तहका कक्षा चलाउन दिने प्रस्ताव गरेका छौं,’ उनले भने,‘भोली बोर्ड बैठकमा छलफलपछि लागू हुन्छ ।’

‘आफ्ना आवश्यकता, परिवेश र श्रोत साधनका आधारमा कक्षा चलाउन अनुमति दिने कुरा बैठकमा उठेको थियो,’ एनप्याब्सनका पूर्व सचिव एवं न्यू मनकामना अंग्रेजी स्कूल भादगाउँका संस्थापक प्रिन्सिपल तिलकबहादुर चौहानले भने ।

नगरपालिकाले कक्षा र सिफ्टमा विद्यार्थी संख्या तोके पनि शुल्क भने तोकेको छैन । तर साविकको भन्दा बढी शुल्क भने लिन नपाइने कुरा निर्देशिकामा रहेको अधिकारीहरुको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी