
दमौलीः सरकारसँग भएको तीन बुँदे सहमति पालनाको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तनहुँ प्रशासनमा धर्ना दिएको छ ।
तत्कालीन विद्रोही पक्षले सहमतिलाई पालना गर्दा पनि सरकारले आनाकानी गरिरहेको भन्दै देशभरिका प्रशासन कार्यालय अगाडि दबाब दिन धर्ना दिइएको नेकपा व्यास नगरका अध्यक्ष ओमबिक्रम पन्तले बताए ।

तीन बुँदे सहमतिमा पार्टीकै शब्दमा सबै नेता कार्यकर्ताको झुटा मुद्दा राज्यले खारेजी गर्ने बुँदा थियो । सहमति भए पछि राजनीतिक संकट समाधान हुने ठानिएको थियो । तर राज्यको तर्फबाट सहमति कार्यान्वयनमा चासो नदिएको भन्दै दबाब दिने उद्देश्यले धर्ना दिन आएको पन्तले बताए ।

धर्ना कार्यक्रम पछिको कोणसभामा नेकपाका सेक्रेटरी एटमले नेपालमा वैज्ञानिक व्यवस्था कि संसदीय ठिक भनेर जनमत संग्रह गरौँ भन्ने आफ्नो पार्टीको मान्यतालाई राज्यले गलत नजरले हेर्ने काम गरेको बताए ।
‘सहमति गरेपछि जालझेल छलकपट गर्न पाइँदैन,’ एटमले भने । युवा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य नेत्र थापा , महिला संगठनकि जिल्ला अध्यक्ष कल्पना रामदाम , युवा संगठन का विष्णुकुमार श्रेष्ठ , ब्यासनगर अध्यक्ष ओमबिक्रम पन्त , युवा संगठनका उपाध्यक्ष राजकुमार लामगादे लगायतका नेता तथा कार्यर्ताको उपस्थिति रहेको थियो ।

धर्नामा सहभागीले बैज्ञानिक समाजवाद जिन्दावाद !! एमसीसी लगायत सम्पुर्ण राष्ट्रघाति सम्झौता खारेज गर ! तीन बुँदे सहमति कार्यान्वयन गर ! झुटा मुद्दा खारेज गर ! एकीकृत जनक्रान्ति जिन्दावाद ! जस्ता नारा लगाएका थिए ।