कांग्रेस म्याग्दे अधिवेशनः सभापतिमा खनाल र घिमिरे भिड्दै, केन्द्रदेखि जिल्लासम्मका नेताको चासो

  • ख-
  • ख+

विकास खनाल
म्याग्दे :
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दे गाउँपालिकाको अधिवेशन नजिकिएसँगै आकांक्षी आफ्ना पक्षमा मतदाता आकर्षित गर्न दौडधुपमा लागेका छन् ।

अधिवेशनपूर्वको छलफलबाट सभापतिमा दावेदारी दिएका नरसिंह राना र पुर्णचन्द्र घिमिरे पछि हट्ने भए पछि अन्तिममा विनोद खनाल र रामभक्त घिमिरेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सहमति नभएमा मतदान तोकिएको दिन शनिबार आउनु एक दिन अघिसम्म खनाल र घिमिरेले माहोल आफ्नो पक्षमा बनाउन अन्तिम कसरतलाई तीव्रता दिइरहेका छन् ।

पार्टीका केन्द्रीयस्तरका नेताहरु शंकर भण्डारी, प्रदीप पौडेल र ध्रुव वाग्ले सहित जिल्ला र पालिका स्तरका नेताहरूले पनि आँखा लगाइरहेको हुँदा चुनावी प्रतिस्पर्धा थप ओजिलो बन्दै गएको छ । अहिले दुबै जना उमेदवार हरू मतदाता भेट्न घर दैलोमा पुगेका छन् ।

‘म एकपटक सबै मतदाता माझ पुगिसकेँ र भोट दिन भनेँ , त्यसमा सबै मतदाता साथीहरू सकारात्मक हुनुहुन्छ,’ उम्मेदवार रामभक्त घिमिरेले दमौली न्युजसँग भने । घिमिरेले अहिलेसम्म कुनै नेतालाई नभेटेको र आफू यस्तो गर्ने पहिलो भएको दाबी पनि गरे ।

घिमिरेले जस्तै अर्का उमेदवार बिनोद खनालले पनि सबै मतदातालाई भेटेको दमौली न्यूजलाई बताए । मतदाता माझ पुग्दा आँफुलाइ जित्छु भन्ने पूरा विश्वास भएको र थप हौसला मिलेको खनालको दाबी छ ।

लामो समयदेखि पार्टीमा काम गरेको र संगठन सुदृढीकरणको लागि लागिपरेको हुँदापनि मतदाताले आँफुलाइ माया गर्ने खनालको विश्वास छ । खनाल अहिले म्याग्दे गाउँपालिका वडा नँ १ को वडा सदस्य छन् भने यसभन्दा अगाडि नेविसंघ , तरूणदलको जिल्ला सदस्य सँगै पार्टीको जिल्ला सदस्य समेत भैसकेका नेता हुन् ।

यस्तै अर्का उमेदवार घिमिरे ११ औं महाधिवेशनमा क्षेत्रीय सहसचिव र क्षेत्रीय सदस्य भैसकेका नेता हुन् । घिमिरे हाल दमौलीको भानुभक्त क्याम्पसमा प्राध्यापकको रूपमा छन् । घिमिरेलाई केन्द्रीय नेता शंकर भण्डारी र खनाललाई केन्द्रीय सदस्य प्रदिप पौडेलको साथ रहेको बताइएको छ ।

खनालले अर्का दुई उमेदवार नरसिंह राना र पुर्णचन्द्र घिमिरेले आँफुलाइ समर्थन गरेर छोडेकाले पनि आँफु बलियो रहेको दावी गरेका छन् ।

यस्तै, म्याग्देको सचिवमा भने ४ जना युवाहरूको प्रतिष्पर्धा देखिएको छ । युवाहरू गौरबराज राना, सुन्दरमणि अधिकारी, राम घिमिरे र श्रीभद्र आचार्य सचिवको लागि अगाडि बढेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी