कांग्रेस व्यास नगर अधिवेशनः अधिकांश उम्मेदवार सहमतिका लागि ‘लचक’, नेताहरु भन्छन्,‘भरेसम्म नयाँ खबर आउँछ’

  • ख-
  • ख+

दमौलीः लामो समयदेखि रस्साकस्सीमै रहेको कांग्रेस व्यास नगरको नेतृत्व चयनले नेताहरुकै शब्दमा ‘निर्णायक’ मोड लिन लागेको छ ।

शनिबार तय अधिवेशनपूर्व कांग्रेस हाईकमाण्डले नेताहरुबीच छलफलका लागि डाकेको बैठकमा नगर सभापतिका अधिकांश आकांक्षी आफ्नो दाबेदारी त्याग्न सहमत भएका छन् । सार्वजनिक चर्चामा रहेका १० मध्ये देवकुमार श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने यस अघि नै घोषणा गरिसकेका छन् ।

बाँकी नौमध्ये छलफलमा उपस्थित अधिकांश आकांक्षीहरुले सहमतिका लागि आफूहरु बाधक नबन्ने बताएको छलफलमा सहभागी पार्टी जिल्ला सचिव विश्व बाँस्तोलाले दमौली न्यूजलाई बताए ।

‘धेरैले सहमति हुने खण्डमा आफूहरुले त्याग गर्न तयार रहेको बताउनुभयो,’ जिल्ला सचिव बाँस्तोलाले भने,‘केही उपस्थित हुनुहुन्न, सबै नभए पनि धेरैमा सहमति हुने आशा छ ।भरेसम्म केही नयाँ खबर आउनेछ ।’

आकांक्षीहरुले आफूहरुलाई पार्टीले अरु मूल्यांकन गरेमा दाबेदारी त्याग्ने बताएका थिए । यसरी सहमतिका लागि भन्दै दाबेदारी त्याग्न तयार हुनेमा सभापति आकांक्षी तुलसीराम सापकोटा, मोहनकुमार श्रेष्ठ, बैकुण्ठनाथ मिश्र, प्रतापसिं गुरुङ रहेको बताइन्छ ।

छलफलमा सभापतिका प्रत्यासी डम्बर अधिकारी र डा. शेषरमण न्यौपाने भने थिएनन् । अधिकारीले पारिवारिक कारण बाहिर रहेकाले आफू उपस्थित हुन नसकेको बताए । डा. न्यौपाने पनि राजधानीमा रहेकाले सहभागी हुन नसकेको बताइन्छ ।
छलफलमा सभापति आकांक्षी सूर्यचन्द्र हड्खलेले भने आफू सभापति पदका लागि पछि नहट्ने बताएका थिए ।

सचिव बाँस्तोलाले छलफल हुन बाँकीसँग पनि हाईकमाण्डले छलफल गर्ने बताए । पार्टीको हाईकमाण्डमा जिल्ला सभापति बैकुण्ठ न्यौपाने, जिल्ला सचिव बाँस्तोला तथा व्यास नगर सभापति शान्तिरमण वाग्ले थिए ।

सभापतिमा नभए अरु पदमा सहमतिको तयारी
हाईकमाण्डले स्थानीय चुनाव समेत नजिक आएकाले सकेसम्म मतदान प्रक्रियामा जान न परोस् भन्ने चाहेको छ । ‘सकेसम्म सहमति होस् भन्ने चाहना हो,’ सचिव बाँस्तोलाले भने,‘तर त्यसको नाममा जर्बजस्ती कसैमाथि हुँदैन ।’

श्रोतका अनुसार सभापति पदमा दुई वा तीन जनाबीच मतदान नै हुने अवस्था आएमा पनि बाँकी पदमा भने सहमति गराउने तयारी छ । तर सार्वजनिक रुपमा भने नेताहरुले सहमतिका लागि दबाब नदिने बताइरहेका छन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी