कांग्रेस व्यास नगर अधिवेशनः १० जना नै सभापति लड्लान् ? यी हुन् सम्भावित आधार

  • ख-
  • ख+

दमौलीः कांग्रेसको स्थानीय तह अधिवेशनको मिति नजिकिएसँगै अहिले जिल्लाको राजनीति झनै तातिरहेको छ । यस अघि वडा तहको अधिवेशनमा देखिएको सरगर्मी स्थानीय तह अधिवेशनको मिति नजिकिंदा झनै बढेको छ ।

केन्द्रीयस्तरका नेताहरु जिल्ला आउने क्रम बढिरहँदा राजनीतिक महोल झनै तात्न पुगेको छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले केही दिनयता गृहजिल्लामा छन् ।

उता, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई र प्रदीप पौडेल पनि गृह जिल्ला आउँदैछन् । स्थानीय तहको नेतृत्व दौडमा सबैभन्दा धेरै व्यास नगरपालिका तातेको छ । नगरपालिकाको सभापतिका लागि हालसम्म सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्नेको संख्या १० पुगेको छ ।

ट्रेड युनियन कांग्रेस सभापति सूर्यचन्द्र हड्खले, क्षेत्रीय पदाधिकारी तुलसीरामा सापकोटा, व्यास नगर सचिव चुडामणि दाहाल र मोहनकुमार श्रेष्ठ, सह सचिव डम्बर अधिकारीसँगै डा. शेषरमण न्यौपाने, ईञ्जिनियर हरिदत्त पौडेल सबैले आफूलाई नेतृत्वको दाबेदार भनिरहेका छन् ।

यसै दौडमा पछिल्लो समय आएर नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँका निवर्तमान प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रका अलावा गैरसरकारी अभियानमा सक्रिय प्रताप गुरुङले पनि आफूलाई दौडमा अघि बढ्ने बताएका छन् ।
तर यीमध्ये कमैले आफ्नो उम्मेदवारीलाई अभियानको रुपमा अघि बढाएका छन् ।

बार्गेनिङ कि उम्मेदवारी ?
चुनाव लड्छु भनेर वडास्तरमा प्रचार अभियानसम्म अघि नबढाइकन पनि कतिपयले घोषणा गरिरहेका छन् । यसलाई कतिपयले अरु पदका लागि बार्गेनिङसम्म भन्ने गरेका छन् । ‘उठ्छु भनेकामध्ये बढीमा तीन जना उठ्न सक्नुहोला नत्र दुई जना नै हो,’ कांग्रेसको राजनीतिलाई नजिकबाट नियालिरहेका एक नेताले भने,‘अरु सब बार्गेनिङका लागि हो ।’

जिल्लामा प्रष्ट रुपमा दुई धार देखिएकाले चुनावको अन्तिमसम्म दुई जना मात्र लड्ने कुरामा धेरै बल हालैका घटनाक्रमले दिएको छ । तर यस्तोमा आकांक्षी बताएकाहरुले आगामी दिनमा गर्ने लबिङले उनीहरुले भावी दिनमा वा यही अधिवेशनमा अरु पदमा भने ठाउँ निश्चित गर्न सक्छ ।

ग्याप घटाउने मेसो
लामो समय विभिन्न पद तथा पेशामा सक्रिय रहेर बाहिर रहेकाहरु भावी दिनमा सक्रिय राजनीतिमा रहनका लागि कार्यकर्तास्तरमा ग्याप घटाउन पनि यसपालीको स्थानीय चुनावमा कम्मर कसेर लागेका छन् । यसले भावी दिनमा पाउने राजनीतिक नियुक्ति वा पार्टीकै पदका लागि उनीहरुलाई नेता कार्यकर्ताले नचिन्ने समस्या कम रहन्छ ।


राजनीतिक सिफारिसका लागि पार्टीले दिने सिफारिसका लागि समेत पार्टीको नजरमा पर्न पनि सक्रिय राजनीतिक सहभागीताले फाइदा पुग्ने जानकार बताउँछन् । यसले पनि खासगरी स्थानीय तहस्तरको चुनाव पेचिलो बनिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्