विकास दरैको स्मृतिमा फोटोग्राफी पुरस्कार स्थापना गरिने

  • ख-
  • ख+

दमौलीः आन्द्राको क्यान्सरका कारण ज्यान गुमाएका फोटोग्राफर विकास दरैको स्मृतिमा फोटोग्राफी पुरस्कार स्थापना गरिने भएको छ ।

उनको निधनको पुण्य तिथिमा हालै आयोजित श्रद्धाञ्जली सभामा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले फोटोग्राफीमा अघि बढिरहेका दरैको निधनले क्षति पुगेको भन्दै उनको सम्झना चिरस्मरणयोग्य बनाउन गरिने रचनात्मक कार्यमा सघाउने प्रतिवद्धता जनाए ।

उनले विकासको सम्झनामा पुरस्कार राख्ने कार्यमा नगरपालिकाले सघाउने बताए । रेन्बो क्लब अफ फोटोग्राफीमा आवद्ध विकास पर्यटकीय गन्तव्यबारे जानकारी दिने च्यानल घुमन्तेका पनि सदस्य थिए ।

प्राकृतिक तथा व्यवसायिक क्षेत्रको समेत फोटोग्राफीमा उनको रुचि थियो । साथी सुजन गौतमले विकासको फोटोग्राफीमा प्यासन रहेको बताए ।
फोटोग्राफीमा करिअर बनाइरहेका दरैको उपचारका क्रममा हालै निधन भएको थियो ।

उनको सम्झनामा साथी तथा शुभचिन्तकले समेत यस्तै प्रकृतिको काम गर्ने योजना बनाइरहेका छन् । स्मृति फाउण्डेसन वा अरु कुनै संस्थामार्फत फोटोग्राफीमा करिअर बनाउन लागेकालाई सम्मान गर्ने सोच रहेको साथी सनम अधिकारीले बताए ।

व्यास नगर क्षेत्रमा केन्द्रीत रहेर यस्तो कार्यक्रम गर्ने योजनामा साथ रहने नगर प्रमुख न्यौपानेले प्रतिवद्धता जनाए पछि उनीहरुमा हौसला मिलेको छ ।

दरैको उपचारका लागि साथी तथा सुभेच्छुकबाट आर्थिक संकलन समेत भएको थियो । ‘उनलाई बचाउन नसके पनि सबैले सम्झने केही गर्नुपर्छ भन्ने सबैको सोच छ,’ अधिकारीले भने । उनीहरुले फाउण्डेशन गठन गरेर काम अघि बढाउने सोचेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी