
ऋषिङः नेपाली कांग्रेसको ऋषिङ गाउँ अधिवेशनमा गाउँ सभापति पदमा चुनाव लड्ने युवा नेता दानबहादुर श्रेष्ठले घोषणा गरेका छन् ।
पार्टी गाउँ सचिव र तरुण दल क्षेत्रीय अध्यक्षसमेत रहेका श्रेष्ठले अब आफू सर्वसम्मत हुने दाबी गरे । दमौली न्यूजसँगको कुराकानीमा उनले आफू गाउँमै रहेर दुई दशकयता पार्टीको विभिन्न जिम्मेवारीमा रहेको भन्दै अब सचिवबाट माथिल्लो तहमा लड्ने घोषणा गरे ।

श्रेष्ठले गाउँमा बसेर लामो समय पार्टी संगठनमा लागेको र सबै वडालाई सर्वसम्मत बनाउन भूमिका खेलेको भन्दै अब गाउँपालिकाको सभापतिमा पनि सर्वसम्मत हुने विश्वास व्यक्त गरे । ‘मैले खेलेको भूमिकाका आधारमा नेतृत्व हस्तान्तरण प्रक्रियामा मलाई सबैले विश्वास गर्ने अपेक्षा मैले लिएको छु,’ उनले भने ।

श्रेष्ठले कांग्रेसको नेतृत्वमा गाउँपालिकाको विकास प्रक्रियाले पछिल्लो समय गति लिइरहेको भन्दै भौतिकसँगै सामाजिक विकासमा पनि जोड दिइरहेको बताए । ‘भौतिक विकासमा अरु तहका तुलनामा ऋषिङ धेरै अघि बढिरहको छ,’ उनले भने,‘अब मानविय विकास पनि हुन्छ ।’
श्रेष्ठले अहिले पनि एक ढिक्का रहेको गाउँको पार्टी संगठन थप बलियो पार्ने घोषणा गरे ।
युवालाई गाउँमै रोजगार र उद्यमशील बनाउने घोषणा
श्रेष्ठले कांग्रेस र पार्टीको नेतृत्वमा रहेको गाउँपालिकाले युवालाई गाउँमै स्वरोजगार बनाउन पहल गरिरहेको भन्दै अब थप काम हुने दाबी गरे । ‘युवालाई सक्षम नबनाएसम्म ऋषिङ माथि उठ्न सक्दैन,’ उनले भने,‘अब हामी त्यो बाटोमा छौं ।’