
दमौलीः नेपाली कांग्रेसको वडा अधिवेशनअन्र्तगत व्यास नगरपालिकाका अधिकांश वडाको निर्वाचन परिणाम आएको छ । धेरै वडामा सर्वसम्मत हुँदा केही वडामा निर्वाचनमार्फत नेतृत्व चयन हुँदा केही वडामा भने चयन प्रक्रियालाई समय थप गरिएको छ ।
नेपाली कांग्रेसको सभापतिका आकांक्षीहरु अधिकांश क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् भने केही मतपरिणामको प्रतिक्षामा छन् । केही वडामा अरु पदमा सर्वसम्मत भए पनि सभापतिमा मात्र मतदान भएको छ भने केहीमा सभापति र क्षेत्रीय प्रतिनिधि दुवैमा मतदान गरिएको छ ।
धेरैको चासो रहेको व्यास ४ मा सर्वसम्मत नेतृत्व चयन हुँदा व्यास २ मा भने सभापति पदमा कुरा मिल्न नसक्दा अरु सहमति पनि रोकिएको छ । व्यास ३ मा भने सबैभन्दा पहिले सहमति भएको थियो । व्यास १ ले पनि सहमतिमै सभापतिका तीन आकांक्षीलाई क्षेत्रीय प्रतिनिधिसहित सबै पदमा सहमति गरेको थियो ।

व्यास १० मा सभापति पदमा प्रेमराज मिश्रको नाम शुरुमै सहमति भए पनि अरु पद र क्षेत्रीय प्रतिनिधि टुंग्याउन समय लाग्दा राती अबेर मात्र परिणाम सार्वजनिक गरिएको छ ।