
दमौलीः जिल्लाका ८५ वटै वडामा अधिवेशन शुरु हुनु केही घण्टा अघिसम्म पनि तनहुँ कांग्रेसमा आकांक्षीबीच सहमतिको अधिकतम प्रयास भैरहेको छ । देशका अधिकांश स्थानमा आजका लागि तोकिएको वडा अधिवेशनको निर्वाचन कार्यक्रम तनहुँमा अहिले बिहान नौ बजेबाट शुरु हुँदैछ ।
कांग्रेस नेतृत्वले सबै ठाउँमा निर्वाचन अधिकृत खटाइसकेको छ । वडाको नेतृत्व चयनमा सकेसम्म मतदान नगर्ने र सबै पक्षसँग समन्वय गर्ने कांग्रेसको नीति छ । लगत्तै स्थानीय तहको चुनाव आउन लागेकाले मतभिन्नता कम गराउनका लागि पनि सबै गुटसँग समन्वय गरेर सहमतिमा ल्याउने अधिकतम प्रयास गरिने भनाई नेताहरुको छ ।
तर नेतृत्व चयनमा निर्णायक मानिने क्षेत्रीय प्रतिनिधिमा भने धेरैको आकांक्षा छ । कतिपय वडामा सभापतिका विषयमा सहमति भए पनि क्षेत्रीय प्रतिनिधिमा भने सहमति हुन बाँकी छ । अन्तिम समयसम्म सहमति नभएमा भने बिहान नौ बजेबाट निर्वाचन कार्यक्रम थालिने गरी तालिका तयार पारिएको छ ।
