
दमौलीः गृहजिल्लामा वडा अधिवेशनको रौनक चलिरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो समूहबाट एक मात्र उम्मेदवार हुने घोषणा गरेका छन् ।
कांग्रेस उपसभापति प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, शशांक कोइराला, सुजाता कोइराला लगायतका नेताहरु उपस्थित गराएर पौडेलले भने,‘ हामी एक भएर अघि बढ्नेछौं । हाम्रो एकता अटुट रहनेछ ।’
उनले एकतामा आँच आउन नदिने भन्दै देशभरका कार्यकर्तालाई आस्वस्त तुल्याए । ‘हामी सभापतिको एउटा उम्मेदवार ल्याउँछौं, ढुक्क रहनुस् ।’
गृह जिल्लामा कांग्रेस वडा अधिवेशनमै नेतृत्वका लागि नेता कार्यकर्ताबीच कडा कसरत भैरहेका बेला राजधानीमा रहेका वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट आकांक्षा राखेकाहरुलाई नै भेला पारेर यस्तो घोषणा गरेका हुन् ।
तर घोषणा कार्यक्रममा पौडेल आफैं वा अरु को उम्मेदवार हुने भने घोषणा भएन । समूहबीच सल्लाह गरेर मात्र उम्मेदवार तय गर्ने वरिष्ठ नेता पौडेलले बताए ।