
दमौली: अविरल वर्षाका कारण पहिरो खसेको व्यास ४ मादी पुलस्थित पृथ्वी राजमार्गको पहिरो हटाइएको छ ।
बिहान सवा ६ बजेतिर पहिरो खसेका कारण मुख्य राजमार्गमा यातायात रोकिएकामा मुग्लिङ पोखरा सडक आयोजनाबाट खटिएको डोजर र प्राविधिकको सहायतामा एकतर्फी यातायात नियमित बनेको प्रहरीले जनाएको छ ।
प्रहरीले राजमार्गको तनहुँ खण्डको अरु भागमा भने अवरोध हालसम्म नरहेको जनाएको छ । तर पनि विभिन्न ठाउँमा स साना पहिरो भने खसेको बताइएको छ ।
यस अघि आईतबार राती पनि सो क्षेत्रमा पहिरो खसेको थियो । नियमित पहिरो खसिरहेका कारण सो क्षेत्र जोखिमपूर्ण बनेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले राजमार्गको अवस्थाबारे आफ्नो आधिकारिक फेसबुक पेज
https://www.facebook.com/dpotanahun/ मार्फत नियमित अपडेट गरारहने प्रहरी उपरीक्षक दिनेश मैनालीले दमौली न्यूजलाई जानकारी दिए ।