
दमौलीःव्यास १० सेवरकी सुकु परियार गुरुङको मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै दलित अधिकारकर्मीले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै उनीहरुले उनले आत्महत्या नगरेको दाबी गरे ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिका अगुवा नेता कृष्णलाल विश्वकर्मा र संयुक्त दलित उत्थान मञ्चका अध्यक्ष रामलिला सुर्वणकारले प्रजिअ सागर आचार्यमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ ।

दलित क्षेत्रका १८ विभिन्न संघ संस्थाले अभियानमा ऐक्यबद्धता जनाएको अधिकारकर्मी सुवर्णकारले बताए ।
प्रजिअ आचार्यले घटनाको निष्पक्ष छानबिनमा प्रशासनले भूमिका खेल्ने बताए ।
गत बिहिबार घरकै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी उनलाई उपचारका लागि दमौलीमा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना सार्वजनिक भएयता माईती पक्ष र दलित समुदायले छानबिन गर्न माग गर्दै आईरहेका छन् ।