
दमौलीः सरकारमा जान तयार अवस्थामा रहेको नेकपा एमालेबाट टुक्रिएको नेकपा समाजवादीका तर्फबाट जाने मन्त्रीको नाम टुंग्याउने काम अन्तिममा पुगेको छ ।
अहिले सांसद नेतासहित राजधानीको चन्द्रागिरी रिसोर्टमा रहेका सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम टुंग्याउन दिएको जिम्मेवारीका आधारमा दर्ता प्रक्रिया पुरा हुनासाथ सो पार्टी सरकारमा जाने निश्चित रहेको नेताहरुको भनाई छ ।
नेकपा समाजवादी सरकारमा जानुअघिदेखि नै तनहुँको राजनीतिमा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री बन्ने चर्चा चलेको थियो । ओली खेमाका यस अघिका हार्डलाइनर मानिने श्रेष्ठले प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई मत दिनु नै उनको मन्त्री बन्ने पक्षको ठूलो आधार भएको टिप्पणी भएको थियो ।
यस अघि नै सरकारमा जाने तयारीमा रहेका बेला नेता नेपालले रोकेकामा अब नयाँ पार्टीका रुपमा जाने बेला भने श्रेष्ठको नाम एमालेले पाउने ६ मन्त्रीको सूचिमा चढेको श्रोतको दाबी छ । उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको दावी श्रोतको छ । कतिपयले राज्यमन्त्रीको समेत सम्भावना बताए पनि श्रेष्ठनिकटले भने उनले फूल मन्त्री नै खाने बताएका छन् ।
केही दिन अघि राजधानीस्थित आफ्नो निवासमा जिल्लाका माधव नेपालपक्षीय नेता कार्यकर्ताको भेला डाकेका श्रेष्ठले यसको शंकेत त्यहीं दिएका थिए । ओली समूहका कार्यकर्ता तान्न पनि श्रेष्ठलाई तत्काल मन्त्री दिनुपर्ने लबिङ पार्टीमा पुगेको र समूह छाडेर मत दिएकाले पनि उनका पक्षमा नेताहरु सकारात्मक बनेको बताइन्छ ।
यस अघि ओली समूहमा रहँदा पटक पटक नाम चले पनि श्रेष्ठ मन्त्री भने हुन सकेका थिएनन् ।
खानलाई ‘महत्वपूर्ण जिम्मेवारी’
शुरु देखि नै नेता नेपालका पक्षमा लागेकी समानुपातिक तर्फकी प्रतिनिधि सभा सदस्य कलिला खानको यस अघि राज्यमन्त्री हुने चर्चा थियो । तर एकै जिल्लाबाट दुई मन्त्री हुने अवस्थामा यसपटक उनको सम्भावना केही कमजोर बनेको छ ।
तर पनि देउवाका पक्षमा मतदान गरेका सबैलाई ‘पालो दिने’ सहमति सो पार्टीमा बनेकाले खानले महत्वपूर्ण जिम्मेवारी पाउने सम्भावना भने अझै बलियो रहेको जानकार श्रोत बताउँछ ।