
दमौलीः घोषित निषेधाज्ञाको अवधि सकिनु केही घण्टा अघि अहिले जिल्ला प्रशासन कार्यालय तनहुँमा जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक बस्दैछ ।
कोरोना संक्रमणको अवस्था बढिरहेका कारण निषेधाज्ञा नहट्ने अवस्था त करिब निश्चित छ । तर आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषय नै मुख्य छलफलको विषय बनेको छ ।
सरकारले स्मार्ट लकडाउनको अवधारणा ल्याएकाले देशका धेरै भागमा कुनै ठाउँ विशेषको अवस्थाका आधारमा सोही क्षेत्रलाई आधार बनाएर निषेधाज्ञा लगाउने अवधारण अघि बढिसकेको छ । सम्भवतः अब तनहुँमा पनि त्यही ढाँचामा निषेधाज्ञा अघि बढ्नेछ ।
तर तनहुँमा पहिलो अभ्यास हुन लागेकाले के कसरी अवस्थाको विश्लेषण गर्ने भन्ने विषयमा छलफल हुँदैछ । अब स्थानीय तहको सिफारिसका आधारमा र त्यहाँको संक्रमण, उपचार र समग्र व्यवस्थापनको अवस्थाका आधारमा निषेधाज्ञा जारी हुने भएकाले यसबारेमा बैठकमा विस्तृत छलफल गरेर निष्कर्षमा पुगिने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले दमौली न्युजलाई बताए ।
व्यवहारिक कठिनाई भएमा भने केही दिन पहिलेकै ढाँचाको निषेधाज्ञा पनि जारी हुन सक्ने बताइन्छ । तर अहिलेको स्मार्ट ढाँचाले सबै क्षेत्र भन्दा पनि असर परेका क्षेत्रमा मान प्रतिबन्ध हुने भएकाले जनजीवन सहज हुने सरकारको प्रक्षेपण छ ।
अहिले संक्रमण नै न्यून भएका ठाउँमा पनि एकै किसिमको निषेधाज्ञा जिल्लाभर रहँदा प्रभावकारी हुन नसकेको सरकारी अधिकारीहरुको ठम्याइ छ ।