बन्दीपुरः नेपाली कांग्रेस बन्दीपुर सचिव बैस गुरुङले पार्टीको आसन्न गाउँ अधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । दमौली न्यूजसँगको कुराकानीमा उनले लामो समयको राजनैतिक अनुभव र सामाजिक क्षेत्रको सेवाका आधारमा आफू सो पदका लागि उम्मेदवार बन्ने घोषणा गरे ।
‘विद्यार्थीकालदेखि नै पार्टी राजनीतिमा लामो समय संलग्न रहेकाले यसपाली जिम्मेवार पदमा उम्मेदवारी दिनुपर्छ भन्ने साथीहरुको राय छ,’ उनले भने,‘म उहाँहरुको भावनाको सम्मान गर्दै उम्मेदवार बन्न लागेको हुँ ।’

तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, क्षेत्रीय होटल संघ तथा बन्दीपुर पर्यटन विकास समितिको नेतृत्वमा रहिसकेका गुरुङ बन्दीपुर नगर विकास समितिको अध्यक्ष समेत रहिसकेका छन् ।

सफल व्यवसायिक र पार्टीलाई गरेको लामो समयको योगदानका आधारमा र सबै पक्षलाई समेट्ने हिसाबले आफ्नो उम्मेदवारी रहने उनले बताए । ‘पार्टीलाई फुट हैन एकजुट बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने,‘आगामी चुनावमा पार्टीलाई बलियो पार्न मेरो समन्वयकारी भूमिका रहनेछ ।’










