ऋषिङका पहिरोपीडित परिवारलाई मुख्यमन्त्री पोखरेलबाट पाँच लाख, ‘हामी सत्तामा छौं,कालिगण्डकी डाइभर्सन कुनै हालतमा हुन दिंदैनौं’

  • ख-
  • ख+

दमौली: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऋषिङ गाउँपालिकामा बाढीपहिरोबाट ज्यान गुमाएका दुई परिवारलाई पाँच लाख रुपैयाँ राहत हस्तान्तरण गरेका छन् ।
गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उनले उक्त राहत वितरण गरेका हुन् ।

पहिरोमा पुरिएर ज्यान गुमाएकी देवीसरा थापा र खुमबहादुर आलेको परिवारलाई संघ सरकारको जनही २ लाख, प्रदेश सरकारको तर्फबाट जनही ५० हजार रुपैयाँ मुख्यमन्त्री पोखरेलले हस्तान्तरण गरे । खुमबहादुर आले गाउँपालिकाका सुरक्षा गार्ड हुन् । असार २४ गतेको झरीपछि आएको पहिरोमा परी ऋषिङमा दुई जनाको निधन भएको थियो ।

पहिरोले श्रृंग पथ अवरुद्ध भए पछि गाउँपालिकाको अनुरोधमा सरकारले सडक खुलाएर तत्काल यातायात सञ्चालन गर्न २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

कालिगण्डकी सभ्यता हो, डाईभर्सन हुन दिंदैनौं
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले परिवर्तित राजनीतिक परिस्थितिका कारण गण्डकीमा सरकार फेरिएको भन्दै सीमित स्रोत र साधनबीच पनि प्रदेशवासीलाई सेवा दिन पछि नपर्ने प्रतिबद्धता जनाए ।

पञ्चायतकालमा राजनीतिक संगठनका लागि ऋषिङमा पुगेको स्मरण गर्दै उनले उक्त क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघ सरकार मिले अगाडि बढ्नुपर्ने बताए । कालीगण्डकी डाइभर्सनका बारेमा स्थानीयले राखेको चासोबारे सम्बोधन गर्दै उनले कुनै पनि हालतमा यो आयोजना सञ्चालन हुन नदिने भनाइ राखे ।

उनले भने, ‘बुटवलमा कार्यालय खुलेदेखि नै गण्डकी प्रदेश सरकारले यो आयोजनाको विरोध गरेको छ, सर्बपक्षीय बैठक नै गरेर पनि धारणा सार्वजनिक गरेका छौं, डाइभर्सन कुनै हालतमा हुँदैन । ’

उनले कालिगण्डकी नदी मात्र भएर पानीको मात्र विषय भएको भए फरक हुने भन्दै उनले पर्वत, रामपुरदेखि देवघाटसम्मको सांस्कृतिक सम्पदालाई असर पार्ने काम कुनै हालतमा हुन नदिइने बताए । ‘पहिलेका मन्त्री विष्णु पौडेलजीले आफ्नो गल्ती पखाल्न गलत नियतले यो अघि बढाउनुभएको हो,’ उनले भने,‘हामीले विपक्षमा हुँदा पनि विरोध गरेका थियौं । अब झनै सरकारमा छौं । यसलाई कार्यान्वयन हुन दिंदैनौं ।’

पोखराबाट नवलपुर जोड्नका लागि व्यवस्थित सडक नभएकोतिर इंगित गर्दै उनले यसका लागि अहिले झ्यालवास डेढगाउँ सडकलाई सरकारले प्राथमिकतामा राखेको भनाइ राखे । अहिले डबल लेनको बन्ने सडक ठेक्का प्रक्रियामा गइसकेको छ ।

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, झुलबहादुर आले, गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दल सचेतक ओमकला गौतम, प्रदेश सभा सदस्य डोबाटे विक, सरीता गुरुङले प्राकृतिक विपत्तिले रिसिङमा ठूलो क्षति पु¥याएको भन्दै यसका लागि ३ वटै तहका सरकारले समन्वय गरेर काम गर्न आग्रह गरे ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, गाउँपालिका उप्रप्रमुख गिनुमाया थापा लगायतले कार्यक्रममा बोलेका थिए । गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पहिरोले क्षतिग्रस्त भएको ऋषिङलाई पुरानै अवस्थामा पु¥याउन सहकार्य जरुरी रहेको भनाइ राखे ।

ऋषिङका पहिरो प्रभावितलाई तीनै सरकारले घर बनाउन सघाउने

तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले घर क्षति भएकाहरूलाई पुनस्र्थापनका लागि प्रति घर ४ लाख रुपैयाँ उपलब्ध गराउने बताए । जसमा संघको ६०, प्रदेशको ३० र स्थानीय तहले १० प्रतिशत लगानी गर्नु पर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले जानकारी दिए । तनहुँमा यो वर्ष बाढीपहिरोमा ६ जनाले ज्यान गुमाएका छन् ।
ऋषिङ, भानु र बन्दीपुर गापामा धेरै क्षति भएको उनले जानकारी दिए ।

भिमादमा बाढी कटानको निरीक्षण
मुख्यमन्त्री पोखरेलले भीमाद बजारमा सेती नदीले पारेको क्षतिको अवलोकन गरेका थिए । भीमदमै निर्माणाधीन नेपाली कांग्रेसको कार्यालय अवलोकन गरेपछि उनी जनज्योति क्याम्पस परिसरमा वृक्षरोपणमा सहभागी भए । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेकी आमालाई भेटेर आशीर्वाद लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी