
दमौलीः व्यास नगरपालिका वडा नं १० स्थित दुम्सीमा कोभिड अस्पताल सेवा शुरु भएको छ ।
नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको अस्पताल यस अघिको सहरी स्वास्थ्य एकाईमा स्थापना गरेको हो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शुक्रबार आयोजित कार्यक्रमका बीच अस्पतालको उद्घाटन गरेका हुन् । अस्पतालको उद्घाटन गर्दै न्यौपानेले ग्रामीण क्षेत्रलाई लक्षित गरेर नगर अस्पताललाई यहाँ ल्याएको बताए ।

अस्पताल सुरुवातसँगै पीसीआर टेष्टका लागि धेरै दिन कुर्नुपर्ने समस्या अब हट्ने नगर प्रमुख न्यौपानेले विस्वास लिएको नेपाल रेडक्रस दुम्सी उपशाखा सभापति रामदत्त पौडेलले जानकारी दिए ।
फोहोर ब्यबस्थापनका लागि ब्यास १० ले नै सहयोग गरेको हुँदा अस्पताल पनि यसै वडामा ल्याइएको न्यौपानेले बताएको पौडेलले बताए । कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी , १ , २ , ५ , ७ , १२ , १३ र १४ नम्बरका वडा अध्यक्ष लगायतको सहभागीता रहेको पौडेलले बताए ।
२५ बेड क्षमताको अस्पतालमा हाल ५ बेड तयार भएको र बृहत रूपमा भदौ १ गतेदेखि सञ्चालन हुने जनाइएको छ । अस्पताल उद्घाटनको व्यास १० का अध्यक्ष तुलसीराम सापकोटाले अध्यक्षता गरेका थिए ।

अस्पताल शुरु भए पनि सबै सुविधा भने शुरु भैसकेको छैन । यस अघि बसेको नगर कार्यपालिका बैठकले अस्पतालका लागि आवश्यक उपकरण टेण्डरमार्फत खरिद गर्ने निर्णय गरेको थियो ।