
दमौलीः व्यास नगरपालिकाले विपद्का समयमा व्यवस्थापनका लागि भन्दै २५ लाख रुपैयाँको तारजाली खरिद गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको नगर कार्यपालिका बैठकले यसका लागि टेण्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
पछिल्लो समय बाढी पहिरोका कारण धेरै ठाउँमा क्षति भएका सन्दर्भमा नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षताको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । कार्यपालिकाको बैठकले २५ बेडको कोभिड अस्पतालका लागि समेत टेण्डर आह्वान गर्ने निर्णय गरेको छ ।
यसैगरी, नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश व्यास नगरपालिका अन्तरगत बहुउदेश्यीय भवन र दक्षिण पुर्व तर्फ रहेको आर.सी.सी. भवनको छतमा कार्यालय व्यवस्थापनका लागि ट्रस्ट समेतका लागि टेण्डर आह्वान गर्ने निर्णय पनि नगर कार्यपालिका बैठकले गरेको छ ।
नगरपालिकाले कृषि तथा पशुसम्बन्धी सेवाका लागि आफ्नै कृषि एम्बुलेन्स सञ्चालनका लागि गाडि खरिद गर्ने निर्णय पनि गरेको छ ।
बैठकले व्यास नगरपालिका अन्तरगत नगर सभाबाट पारित संगठन व्यवस्थापन संरचनामा विशेष नगरसभाबाट अनुमोदन गर्ने गरी संशोधन गरि हाल ७ शाखा रहेकोमा ९ शाखा कायम गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा छ ।
यसैगरी, व्यास नगरपालिका भित्रका मा.वि, आधारभुत र प्रा.वि शिक्षकहरुको दरबन्दी मिलान गर्दै केहि शिक्षकहरुको काज सरुवा गर्ने निर्णय बैठकले गरेको छ ।