छँदाखाँदाको व्यवसाय छाडेर बाख्रा पाल्न गाउँ फर्किए कुशल

  • ख-
  • ख+

दमौलीः उमेरले ३० कटेका कुशलचन्द्र अधिकारीको राजधानीमा ट्राभल र टुरको व्यवसाय छ । काठमाडौंमा आर्थिक हैसियत पनि बनाएका थिए ।

तर राम्रो कमाई भएको र सुविधामा काम गर्न मिल्ने व्यवसायको मुख्य जिम्मेवारी त्यागेर अहिले उनी गाउँमा बाख्रा चराउँदै गरेको भेटिन्छ । लक डाउनमा त धेरै युवा गाउँ फर्किएका छन् । तर अधिकारी भने त्यो हुनु अघि नै गाउँ फर्किए ।

तीन वर्षयता झण्डै एक करोड लगानीमा मिर्लुङ बहुद्देश्यीय कृषि फर्म दर्ता गरेर १५ लाखबाट कृषि व्यवसाय सुरु गरेका अधिकारीले अहिले आफ्नो बाख्रापालनको साम्राज्य विस्तार गरिरहेका छन् ।

अहिले क्रमैसँग खेती विस्तार गरिरहेका कुशलचन्द्रको सिको गरेर अहिले गाउँमा अरु युवा पनि फर्किरहेका छन् ।


पिताको प्रेरणाबाट गाउँमै फर्केर केही गर्नुपर्छ भन्दै कुशलचन्द्रले बोयर र खरी बाख्रा पालेका उनले अहिले त्यसमा विस्तार गरेर अहिले भैंसी पनि पालन थालेका छन् । उनले बट्टाई, कडकनाथ तथा कालिज पनि थप गर्ने योजना बनाएका छन् । कृषिमा बढावा दिनका लागि उनले भैंसी र बाख्राका लागि विभिन्न प्रजातिको भुई घाँस र डाले घाँस खेती पनि गरेका छन् ।


व्यवसायिक कृषिमा सम्भावना भएकाले आफू गाउँ फर्केको कुशलचन्द्र बताउँछन् । ‘चाहे म काठमाडौंमै बसेर पनि व्यवसाय गर्न सक्थें,’ उनी भन्छन्,‘गाउँमै मेहनत गर्ने हो भने केही हुन्छ भनेर थालें ।’ अहिले क्रमैसँग खेती विस्तार गरिरहेका कुशलचन्द्रको सिको गरेर अहिले गाउँमा अरु युवा पनि फर्किरहेका छन् ।


गाउँ छाड्दै विदेशिने लर्को लागिरहेका बेलामा कुशलचन्द्रले हराभरा बनाउन थालेको कामले अरुलाई पनि प्रेरणा मिलेको जिल्ला समन्वय समितिका प्रवक्ता गल गुरुङ बताउँछन् । ‘यसले गाउँमै केही हुन्छ भन्ने अरुलाई पनि सन्देश गएको छ,’ उनले भने ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्