‘शिक्षा, स्वास्थ्य, खाद्य र आवास बन्दीपुरको प्राथमिकतामा’

  • ख-
  • ख+

बन्दीपुर: बन्दीपुर गाउँपालिकाले नागरिकका आधारभूत आवश्यकताका विषय आफ्नो प्राथमिकतामा रहेको बताएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा गरिएको सार्वजानिक सुनुवाईमा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास गाउँपालिकाको प्राथमिकतामा रहेको बताए ।

‘शिक्षाको मुख्य जग नै प्राथामिक र आधारभुत तहको शिक्षा भएकाले अन्य तहमा पर्याप्त सुविधा विस्तारसँगै माध्यमिक तहमा सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न आवासिय र बसको व्यवस्थापन सुरु गरिएको छ,’उनले भने ।

त्यस्तै सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, विशेषज्ञ सेवा सहितको सरकारी अस्पताल, निशुल्क औषधीहरु पर्याप्त मात्रामा वितरण तथा कोभिड संक्रमतिको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आसोसेलेसन सहितको अस्पताल गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य भएको अध्यक्ष थापाको भनाई थियो ।


जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने गरेको उनको भनाई थियो । ‘बन्दीपुर अस्पतालको स्तरवृद्धि गरि ५० शैयाको बनाउने योजना छ,’ उनले भने ।


सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार जनताको सबैभन्दा महत्वपुर्ण अधिकार भएको हुँदा नीति तथा योजना बनाउँदा त्यसलाई नै प्राथमिकतामा राख्ने गरेको बताइन् ।


गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०८७ मा सन्चालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रमको समीक्षा तथा आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा समेटिएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालबारेमा कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले मानवअधिकार समुहले पटक पटक बुझाएको ध्यानाकर्षण पत्रलाई पनि नीति तथा कार्यक्रम निर्माण गर्न सम्बोधन गरिएको बताए ।


मानवअधिकार समुह बन्दीपुरका सदस्य सुरेन्द्र थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष सन्तबहादुर गुरुङ, होटल एसोसियसन बन्दीपुरका अध्यक्ष विपिन प्रधान लगायतले मन्तव्य राखेको इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी