तनहुँ खोप कार्यक्रमः पहिले कसले पाउने अन्यौल, शिक्षक भन्छन्,‘हामीलाई प्राथमिकता’

  • ख-
  • ख+

दमौलीः बुधबारबाट तनहुँका विभिन्न पाँच तहले खोप कार्यक्रम शुरु गरेका छन् ।

बाँकी तहले बिहीबार शुरु गर्ने तयारी गर्दैछन् । तर शुरुको चरणमा प्राप्त आठ हजारलाई पुग्ने चार हजार भाईल खोप आए पनि आवश्यकता र लक्षित समूहको संख्या त्योभन्दा कैयौं गुणा बढी भएकाले नपुग्ने देखिएको छ ।


सरकारले बनाएको मापदण्डअनुसार ५५ वर्ष माथिका, कलेजका प्राध्यापक तथा शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक कर्मचारी, विदेश जाने नागरिक आदि भएकाले त् त्यसरी खोप पाउने संख्या निकै बढी हुने देखिए पनि यकिन तथ्यांक भने छैन ।


तर चिनियाँ भेरोसिल भ्याक्सिन क्रमैसँग लगाउने नीति भए पनि अहिले भने आठ हजारलाई मात्र पुग्ने स्वास्थ्य अधिकारी बताउँछन् । तर उनले यस चरणमा २४ हजार बढीलाई पुग्ने गरी १२ हजार चार सय ४१ भाइल खोप मगाउन सकिने अधिकारीको तर्क छ । त्यसो भएमा आवश्यकताको ठूलो संख्यालाई खोपले धान्ने उनको तर्क छ ।


व्यासमा मागको ओइरो
बुधबार खोप कार्यक्रम शुरु नगरेको व्यास नगरपालिकाले बिहीबार कार्यक्रम थाल्दैछ । उसले १४ वटै वडाका २२ ठाउँमा खोप लगाउँदैछ । नगरका स्वास्थ्य प्रमुख प्रमोद सोती भन्छन्,‘हामीले पाउने खोप निश्चित छैन तर मागको ओइरो छ ।’


उनले प्राथमिकता प्राप्त समूहको संख्या अधिक भएकाले चापको व्यवस्थापन गर्न कठिनाइ हुने आशंका गरे । ‘१० हजार जनालाई पुग्ने खोप नआउँदासम्म माग धान्न सकिन्न,’


शिक्षक भन्छन्,‘हामीलाई पहिला’
आदिकवि भानुभक्त क्याम्पसमा १० गतेबाट चरणवद्ध रुपमा परीक्षा शुरु हुँदैछ । तनहुँ मात्र नभएर गोरखा र लमजुङका समेत विद्यार्थी परीक्षा दिन आउने भएकाले क्याम्पसका करिब एक सय प्राध्यापक तथा कर्मचारीलाई खोप दिन सकिएन भने जोखिम बढ्ने क्याम्पस प्रमुख एवं पब्लिक क्याम्पस संघ गण्डकी अध्यक्ष महाप्रसाद हड्खले बताउँछन् ।

‘सात सय परीक्षार्थी आउने ठाउँमा हामीलाई खोपको ग्यारेन्टी नहुँदा जोखिम बढ्छ,’ उनले भने,‘पाउने भनिए पनि हामी सबैले खोप पाउने ग्यारेन्टी देखिएन ।’

सबैको दबाब
जिल्लाका सहरी क्षेत्र बहुल तहमा चालक, सहचालक तथा विभिन्न सार्वजनिक सेवाप्रदायक र कर्मचारी समेतको खोपका लागि दबाब भएकाले शुरुमा जानेले प्राथमिकता पाउने देखिन्छ ।

दुई दिन चल्ने कार्यक्रममा नपुग भएमा पोखराबाट खोप ल्याएर विस्तारै वितरण गरिने स्वास्थ्य अधिकारी बताउँछन् । ‘अहिले भण्डारण धेरै नमिल्ने भएर हो,’ स्वास्थ्य प्रमुख अधिकारी भन्छन्,‘सकिए फेरि ल्याएर बाँड्छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी