ऋषिङको पीडाः आवतजावत पाँच दिनदेखि ठप्प, विद्युत र फोन सेवा अवरुद्ध

  • ख-
  • ख+

सञ्जय श्रेष्ठ
ऋषिङः
अत्यधिक वर्षा र ठाउँ ठाउँमा पहिरो झरेका कारण ऋषिङ यातायात सेवाबाट पाँच दिनदेखि बिच्छेद भएको छ । ठाउँ ठाउँमा पहिरो खस्ने तथा अवरोध हटाउन समय लागेका कारण गाउँपालिकाको केन्द्र नै यातायात सेवाबाट बञ्चित भएको हो ।

बुधबार गएको पहिरोले गाउँपालिकामा यातायात पुरै ठप्प भए पनि खुलाउन सकिएको छैन । गाउँपालिकाको अजम्बरी तीर्थस्थल नजिकै ठूलो पहिरो गएको छ । मन्दिर नै भत्कने गरी गएको पहिरो आसपास अरु पनि ठूला पहिरो गएका छन् ।


गाउँपालिकाले पहिरो हटाउने प्रयास गरे पनि पानी निरन्तर परिरहेकाले नसकिएको अधिकारी दानबहादुर श्रेष्ठले जानकारी दिए । यसले गाउँपालिकाको अन्यत्रसँग सम्पर्क टुटेको छ ।
केही दिन अघि पहिरोमा परी आफन्त गुमाएका दुई परिवारका अलावा घर भत्केका कैयौ परिवारलाई पनि राहत दिन सकिएको छैन । ‘गाउँपालिका र रेडक्रस समेतले राहत दिन खोजे पनि ढुवानी गर्न नसकिएकाले परिवारसमक्ष पु¥याउन सकिएको छैन,’ उनले भने ।


विद्युत अवरुद्ध
ठाउँ ठाउँमा पोल ढलेकाले गाउँपालिकाका धेरै भागमा विद्युत सेवा अवरुद्ध छ । पानी परिरहेकाले नयाँ पोल राख्न समेत नसकिएकाले सेवा नियमित नहुँदा गाउँपालिकावासी समसयामा परेका छन् । चार्ज गर्न नपाउँदा मोबाईल सम्पर्क बिच्छेद भएको छ भने नेपाल टेलिकमको टावरले समेत काम दिन छाडेको छ ।

एनसेलको टावरले काम दिए पनि धेरैसँग विद्युत नहुँदा सञ्चारसम्पर्क पनि बिच्छेद भएको छ ।
यसले पहिरो प्रभावितको उद्धार र सहायतमा पनि समस्या पु¥याएको छ ।

खाद्यान्नको कालोबजारी
पहिरो गएकाले यातायात नचलेको भन्दै खाद्यान्न पसलेले बढी मूल्य लिन थालेका छन् । अहिल्यै सामान सकिएको भन्दै बढी लागत परेको तर्क गर्दै बढी मूल्य समेत लिन थालिएको छ ।


हरेक वर्ष आउने बाढी पहिरोको विपत्तिसँग जुध्न अभ्यस्त बनिरहेको ऋषिङसँग यसपाली प्रकृतिले धेरै नै पीडा थोपरेकाले गाउँपालिकावासी त्योसँग जुध्न बाध्य भैरहेका छन्, सरकार र सुभेच्छुकले पीडामा मलम नलगाए धेरैको जीवन थप कष्टकर बन्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी