विकास खनाल
म्याग्दे: म्याग्दे गाउँपालिका वडा नं १ स्थित गुणादी खाेलामा रहेको कजवे बाढीले बगाउँदा स्थानीयलाई सास्ति भएको छ ।
तत्कालीन जिल्ला विकास समितिले ८ बर्ष अगाडि बनाएको उक्त कजवे बाट ३० घर परिवार का मानिसहरूले प्रत्यक्ष लाभ लिंदै अाएका थिए । खासगरी एतिहासिक , धार्मिक महत्त्व बाेकेकाे गुणादी बाराही मन्दिर जाने अाउने पर्यटकहरूसमेत कजवेकाे बाटो प्रयोग गर्दछन् ।
बाढीले क्षति पुर्याएकाे कजवे १ लाख ५० हजारमा निर्माण भएको म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नँ १ का अध्यक्ष शिवशरण वाग्लेले बताए ।
कजवे भत्किएपछि गुणादीकाे पुरानो बस्ती ( पारिपट्टि ) रहेका र खासगरी महिला केटाकेटीलाई खाेला तर्न कठिनाइ भएको स्थानीय अगुवा युवा बेदनिधि खनालले बताए ।
स्थानीयकाे समस्यालाई बुझि तत्कालै सम्बन्धित निकायले कजवे निर्माण तर्फ ध्यान दिन खनालले माग गरे ।
म्याग्दे १ कै बाख्रे जाने बाटोकाे कजवे पनि बाढीले भत्काउँदा सवारीसाधन अावतजावत ठप्प भएको अध्यक्ष शिवसरण वाग्लेले बताए । यसैगरी गुणादी खाेलामै रहेको अर्को सानाे पुल पनि हालैको बाढीले बगाएको वाग्लेले जानकारी दिए ।











