‘फरार’ तीन दर्जन एकै दिन पक्राउ

  • ख-
  • ख+

दमौली: तनहुँ प्रहरीले विभिन्न मुद्दामा फरार ३५ जनालाई पक्रेको छ । तनहुँ जिल्ला अदालतबाट सजाय फैसला भए पनि कानुनी कारवाही नभोगेका ती व्यक्ति एकै दिन पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले पक्राउ पर्नेमा बहु विवाह देखि ठगी, वन, नागरिकता किर्ते आदिमा सजाय फैसला भएका छन् । उनीहरूविरुद्ध दुई सय रुपैयाँ देखि दुई लाख रुपैयाँ सम्म जरिवाना फैसला भएका छन् ।

पक्राउ परेका एक भने बहु विवाह मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना सहित एक वर्ष तीन महिना कैद सजाय फैसला भएका छन् ।


उनीहरुलाई अदालत पेश गरिएकामा अधिकांश जरिवाना भुक्तान गरेर गएको र बहु विवाहको सजायमा एक व्यक्ति कारागार चलान भएको बताइएको छ। उनीहरूबाट चार लाख बढी जरिवाना अदालतले संकलन गरेको छ ।

अपराध गर्नेको मनोबल गिराउन कारवाही

तनहुँ प्रहरीले केही समययता अदालतको पुरानो फैसला कार्यान्वयनमा जोड दिइरहेको छ। तर एकै पटक ठूलो संख्यामा व्यक्ति नियन्त्रणमा परेको यो पहिलो घटना हो । प्रहरी उपरीक्षक अरुण पौडेलले अपराध गर्नेको मनोबल यस घटनाले गिराउने बताए । ‘ हाम्रो कारवाही शुरू भए पछि कति आँफै अदालत पुगेर सजाय भुक्तान गर्न थालेका छन्,’ उनले भने, ‘ जति नै सानो र पुरानो सजाय भए पनि भुक्तान गर्नैपर्छ भन्ने सन्देश दिन सफल भएका छौं।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्