
दमौलीः छाब्दी खोलामा आएको बाढीका कारण बगाएको पुलको ठाउँमा बेलिब्रिज राख्नका लागि प्रक्रियाको थालनी भएको छ । प्रदेश अन्र्तगतको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले भौतिक पूर्वाधार कार्यालय तनहुँलाई आवश्यक बजेटको व्यवस्था गरेर काम थाल्न निर्देशन दिएको छ ।
‘बुधबारबाटै काम थाल्ने गरी सबै तयारी गरिएको छ,’ कार्यालयका प्रमुख ओमराज ढुंगानाले दमौली न्युजसँग भने,‘उपभोक्ता समितिसँग सम्झौता भैसकेको छ । अब काम शुरु हुन्छ ।’
उनले साउनभित्र काम सकिने गरी सम्झौता भएको पनि बताए । मन्त्रालयले कुल ४१ लाख ३७ हजार लागतमध्ये उपभोक्ताको १० प्रतिशत लागत सहभागीतामा काम सम्पन्न गर्ने प्रवक्ता सिनियर डिभिजनल ईञ्जिनियर हरिदत्त पौडेलले बताए ।
मन्त्रालयले ४१ लाख ७३ हजार बजेट अनुदान दिने र चालु आर्थिक वर्षमा १३ लाख तथा बाँकी नयाँ आर्थिक वर्षको साउनमा उपभोक्ता समितिलाई भुक्तानी गर्ने भएको छ ।
तुरतुरेस्थित मस्र्याङदी नदीमा रहेको बेलिब्रिज हस्तान्तरणका लागि पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्बर ४ तानसेन पाल्पाले पत्र दिइसकेको ढुंगानाले बताए ।
तटबन्ध, जग आदि निर्माणका काम सके पछि पुल ल्याउने प्राविधिकहरुको तयारी छ ।
उपभोक्ता र अनुगमन समिति गठन
पुलसहितका संरचनाका लागि व्यास १, १३ र १४ का वडाध्यक्षहरुको उपस्थितिमा बसेको भेलाले क्याप्टेन सहविर उच्चैको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेको छ । व्यास १ का वडाध्यक्ष खरसिं दरैको अध्यक्षताको भेलाले स्थानीय यमबहादुर आलेको अध्यक्षतामा अनुगमन समिति गठन गरेको छ ।

समितिले बेलिब्रिज निर्माण तथा त्यो काम नहुँदासम्मका लागि जाली, ह्युम पाईप राखेर गाडी चलने डाइभर्सन निर्माण समेत गर्ने अनुगमन समिति संयोजक आलेले जानकारी दिए । पुल नबन्दासम्म गाडि पास गर्नका लागि नगरपालिकाको सहयोगमा काम अघि बढेको उनले जानकारी दिए ।