रहेनन् बन्दीपुरको ‘पर्यटनका खम्बा’ ईश्वरगोपाल

  • ख-
  • ख+

बन्दीपुरः तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटकीय विकासका एक महत्वपूर्ण अभियन्ता ईश्वरगोपाल प्रधानको निधन भएको छ ।


केही समययता थलिएर उपचार गरिरहेका उनको चितवनस्थित अस्पतालबाट डिस्चार्ज भए पछि घरमै निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

बन्दीपुरकै पुरानो बन्दीपुर गेष्ट हाउसका संस्थापक प्रधान पाँच वर्ष तत्कालीन बन्दीपुर आदर्श गाउँ पञ्चायतका प्रधानपञ्च पनि भए । स्वतन्त्र रुपमै विभिन्न सामाजिक संस्थामा सक्रिय उनलाई तत्कालीन जनमोर्चाले समानुपातिक सांसद उम्मेदवारको सूचीमा राखेको थियो ।


बन्दीपुरको केन्द्र पुरानै बजार हुनुपर्छ भनेर गरिएको आन्दोलनको समेत अगुवाई गरेका उनी सबैले मान्ने सामाजिक व्यक्तित्व भएको कांग्रेस नेता सुरेश भट्टराईले बताए ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सामाजिक सञ्जालमा पोष्ट गर्दै स्वर्गीय प्रधानलाई ‘बन्दीपुरको विकासको खम्बा’ भनेका छन् । उनको निधनले सम्पूर्ण बन्दीपुरलाई अतुलनीय क्षति पुगेको उनले लेखेका छन् ।


स्थानीय युवा व्यवसायी अरबिन्द भट्टराईले पनि विकासको खम्बा भन्दै प्रधानप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । बन्दीपुर गाउँपालिकाकी एमाले नेतृ शान्ति कुँवरले लेखेकी छन्,‘सिङ्गो बन्दीपुरले असल अभिभावक र कुशल मार्गनिर्देशक गुमाएको छ ।’


उनको निधनमा बन्दीपुरेहरुले श्रद्धाञ्जली प्रकट गर्दै पर्यटकीय विकासमा उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनी विभिन्न सामाजिक संघ संस्थामा अहिले पनि आवद्ध थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्