
दमौली
यस अघिदेखि नै व्यवस्थापन हुँदै आइरहेको व्यास ३ भतेरीको नदी किनार बाढीले बगाए पछि व्यास नगरपालिकामा फोहोर व्यवस्थापन फेरि समस्याको रुपमा आइरहेको छ ।
मुख्य केन्द्रका रुपमा प्रयोग भएको भाग नदीले बगाए पनि हाल काम चलाउ रुपमा नजिकै गरिंदै आएको फोहोर व्यवस्थापन गर्ने क्षेत्र पनि बाढीले बिगारेपछि गत शुक्रबारयता दमौलीमा फोहोर उठेको छैन ।
शुक्रबारपछि आईतबार फोहोर उठ्नुपर्ने हो, तर उठेको फोहोर कता तह लगाउने भन्ने तनावमा रहेको नगरपालिकाले ठाउँको व्यवस्थापनमै लागेकाले एक साता यत्तिकैमा बित्यो ।
फोहोर लिन आउने ट्रयाक्टर नआएपछि व्यास ३ सफासडकको मुख्य प्रवेशद्वारमै फोहोरको थुप्रा शुक्रबार भेटियो ।
फेरि संयोग कस्तो भने जहाँ फोहोर फालिएको छ, त्यहीं सफासडक नमूना टोल व्यवस्थापन समितिको एउटा सूचना छ, जसमा भनिएको छ,‘तपाइं सीसीटीभी क्यामेराको निगरानीमा हुनुहुन्छ । जथाभावी फोहोर फालेमा रु १ हजार जरिवाना लाग्छ ।’
सुमन श्रेष्ठले त्यो फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे । त्यसपछि क्रमैसँग यो फोटो भाइरल हुन पुग्यो । अहिले दमौलीका फेसबुक प्रयोगकर्ताको समूह ‘दमौली न्यूज’मा यो फोटो भाईरल भैरहेको छ । धेरैले टिकाटिप्पणी पनि गरिरहेका छन् । कतिपयले व्यंग्य गरिरहेका छन् ।
यस्तो अवस्था कसरी आयो ?
व्यास नगरपालिकाले फोहोर फाल्ने ठाउँ नै नपाएपछि समस्या भएको हो । लामो समयदेखि फोहोर नउठेपछि त्यसै क्षेत्रका कोही व्यवसायीले फोहोर फालेको अनुमान गरिएको छ ।
तर उनीहरुका सामू पनि फोहोर थुप्रिएको लामै समय भएपछि अरु विकल्प पनि थिएन, सायद । धेरैको आँखा पर्ने र ब्यानर पनि भएकै ठाउँमा राखिदिंदा यसले धेरैको ध्यान पनि खिच्न पायो ।
‘पानीले नबिगारे आईतबारबाट फोहोर उठ्छ’
नगरपालिकाका फोहोर शाखा प्रमुख भाग्यशाली ढुंगानाले विकल्प नै नभएकाले फोहोर उठाउन नसक्दा समस्या आएको हुनसक्ने बताए । ‘हामी फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागिरहेका छौं,’ उनले भने,‘पुरानो भतेरीमा राख्ने कुरा भएको थियो तर पानीको ट्यांकीमा प्रदुषण हुन्छ भनेर रोकियो ।’
उनका अनुसार साविकको भतेरीमै मादी पुलनेर फोहोर फाल्ने गरी काम भैरहेको छ । ‘पानीले बिगारेन भने आईतबारबाट केही समयका लागि फोहोर उठाउने काम त्यहीं हुनेछ,’ उनले भने ।