गण्डकीमा कांग्रेस कोटाबाट को मन्त्री बन्लान् ? डोवाटेको सम्भावना कति ?

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अहिले राजधानीमा छन् । मन्त्रीमण्डल विस्तार र कार्यविभाजनलाई अन्तिम टुंगो लगाउनुपूर्व पार्टी नेतृत्वसँग छलफलका लागि नेपाली राजधानी पुगेको बुझिएको छ ।


मुख्यमन्त्रीको काठमाडौंको जानुको सम्बन्ध तनहुँसँग पनि जोडिएको छ । खासगरी कांग्रेसले पाउने चारमध्ये अब दुई मन्त्री नियुक्त गर्न बाँकी रहेको परिप्रेक्ष्यमा नेतृत्वको राय लिनका लागि नेपाली राजधानी गएका हुन् । उनको काठमाडौं बसाई नै तनहुँबाट मन्त्री पाउन वा नपाउनका लागि निर्णायक हुने मुख्यमन्त्रीनिकट श्रोतले बताएको छ ।


राजधानीमा मुख्यमन्त्रीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोईरालालाई भेटेका छन् । त्यसमा पनि अधिक समय पौडेलसँग परामर्श भएको थियो । त्यसक्रममा पौडेलले तनहुँका प्रदेश सभा सदस्य डोवाटे विकको नाममा जोड दिएको श्रोतले बतायो । ‘उहाँहरुबीच करिब चार घण्टा सम्वाद भएको थियो,’ श्रोतले भन्यो,‘सरकार सञ्चालनका अरु विषयमा पनि छलफल भए पनि पौडेलको जोड विकलाई मन्त्री बनाउनेमा थियो ।’


अहिले मुख्यमन्त्री नेपाली कांग्रेसको कोटाबाट छानिने मन्त्रीमा सन्तुलन मिलाउनुपर्ने दबाबमा छन् । पार्टी सभापति शेरबहादुर देउवानिकट मणिभद्र शर्मा देखि पार्टी नेता गोपालमान श्रेष्ठ निकट भागवत मल्ल र मेखलाल श्रेष्ठमध्येलाई पनि मन्त्री बनाउने दबाब उनीसामु छ । यस्तोमा वरिष्ठ नेता पौडेलले पनि आफ्नो कोटाबाट विकको नाम लिए पछि उनको सम्भावना पनि दह«ो देखिएको छ ।


तर तनहुँकै प्रदेश सभा सदस्य सरिता गुरुङ समेतको दावेदारी रहेको र अरु जिल्लाबाट पनि समावेसी कोटामा थप नाम आइरहेका बेला अबको केही दिन मुख्यमन्त्रीका लागि दबाबपूर्ण हुनेछ । तर मुख्यमन्त्री सबै पक्षलाई समेटेर मध्यमार्गबाट मन्त्रीको नाम टुंग्याउने पक्षमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी