एक सय रुपैयाँबाट शुरु बतास फाउण्डेसनको अक्सिजन प्लाण्टका लागि ३ करोड बढी संकलन

  • ख-
  • ख+

दमौलीः बिरामीहरुका लागि आवश्यक अक्सिजन आफैं उत्पादन गर्नका लागि बतास फाउण्डेसनको सक्रियतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बन्न लागेको अक्सिजन प्लाण्टका लागि सहयोग आउने क्रम बढेको छ ।

हरेक व्यक्तिको न्युनतम एक सय रुपैयाँबाट थालिएको अभियानका क्रममा हालसम्म तीन करोड बढी संकलन भएको अभियानको सञ्चार सहयात्री एभरेष्ट एफएमका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।


अभियानका लागि देश विदेशबाट सहयोग आउने क्रम चलिरहेको उनले बताए । पोखरामा अक्सिजनको अभावमा कोरोना संक्रमितको ज्यान गए पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै अक्सिजन उत्पादन तथा प्रसार गर्ने उद्देश्यले बतास फाउण्डेसनले प्लान्ट स्थापनाका लागि सहयोग आह्वान गरेको थियो ।

फाउण्डेसनका अध्यक्ष एवं बतास अर्गनाइजेसनका उद्यमी आनन्दराज बतासले अक्सिजन अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर सबैको सानो सहयोगबाट प्लाण्ट स्थापना गर्न अभियान थालिएको बताए । थोरै रकम पनि दिन सकिने र मोबाईलबाटै रकम दिन सकिने भएकाले अभियानले व्यापकता पाएको छ । यसकै आधारमा करिब दुई साताभित्र प्लान्ट तयार हुने लक्ष्य राखिएको छ ।

अभियानका कोषाध्यक्ष एवं प्रवक्ता नारायण पौडेलका अनुसार आवश्यक उपकरण फ्रान्सबाट आउन लागेको छ । ‘दुई साताभित्र तयार हुने लक्ष्य छ,’ उनले भने ।
करिब दुई करोडमा स्थापना हुने प्लाण्टसँगै अस्पतालमा भेण्टिलेटर र आईसीयु बेडसहितका अरु सामग्री खरिद गरिनेछ । ‘भोली अस्पतालबाट अरुलाई पनि सेवा पुगोस् भनेर यस क्षेत्रमै ठूलो प्लाण्ट बनाइंदैछ,’ उनले भने ।

अमेरिकाबाट भण्डारी दम्पत्तीको ५० हजार
प्लान्ट स्थापनाका लागि पोखरा ५ मालेपाटन स्थायी घर भई हाल अमेरिका निवासी राजु भण्डारी र उनकी जीवनसंगिनी कल्पना भण्डारीले ५० हजार ५ सय रुपैयाँ नगद सहयोग गरेका छन् ।
भण्डारीले तन बिदेशमा भए पनि मन स्वदेशमै रहेको बताए । ‘यो एउटा अत्यावश्यक र सकारात्मक पहल हो,’ भण्डारीले आग्रह गरे, ‘म विदेशमा रहेका अन्य पोखरेली साथीहरुलाई सक्दो सहयोगका लागि अनुरोध गर्दछु ।’


एक दशकदेखि सपरिवार अमेरिका बस्दै आएका भण्डारी दम्पत्ती त्यहाँ सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
बतास फाउण्डेसनको ग्लोबल आईएमई बैंक पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा रकम जम्मा गर्न सकिने बतास फाउण्डेसनका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्दराज बतासले जानकारी दिए ।

समितिले रकम कनेक्ट आईपिएस, क्यूआर कोड वा मोबाइल बैंक ट्रान्सफर र चेक मार्फत बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी