व्यास नगर कार्यपालिका निर्णयः विद्यालय व्यवस्थापन समितिमा वडाध्यक्ष संयोजक

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका क्षेत्रका विद्यालय व्यवस्थापन समितिको नेतृत्व जनप्रतिनिधिले गर्ने भएका छन् । म्याद समाप्त भएको भन्दै नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको समयावधि थप नगरेपछि विद्यालय भर्नाका समयमा विद्यालय नेतृत्वविहिन हुँदै आएका थिए ।


सोमबार नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले भर्ना अभियान सञ्चालन भएको भन्दै नयाँ विव्यस गठन नहुँदासम्म संक्रमणकालिन व्यवस्थापन भन्दै वडाध्यक्ष वा उनले तोकेको व्यक्तिलाई संयोजक तोक्ने निर्णय गरेको छ ।

निर्णयमा सरकारले व्यवस्था गरेको संक्रमणकालिन नियमाअनुसार भनिएको छ ।
समितिमा विद्यालयका शिक्षक प्रतिनिधि समितिले मनोनयन गरेको एक जना महिला सहित २ जना अभिभावक सदस्य तथा विद्यालयका प्रधानाध्यापकलाई सदस्य–सचिव चयन गर्ने निर्णय गरिएको छ ।


समितिले विद्यार्थी भर्नाका आधारमा कायम हुने अभिभावकहरुको विवरणलाई आधार मानि २०७८ श्रावण मसान्त भित्र विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यका लागि आवश्यक सहजीकरण गर्ने पनि नगरपालिकाले बताएको छ ।


व्यासमा अब नगर प्रज्ञा प्रतिष्ठान
कार्यपालिका बैठकले नगर प्रज्ञा प्रतिष्ठान गठनका लागि प्रक्रिया अघि बढाएको छ । आगामी नगर सभामा यसका लागि व्यास नगर प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रस्तुत गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।


नगरको ३५ औं नगर सभामा स्थानीय तहका स्थायी कर्मचारी समायोजन सम्बन्धी विधेयक, २०७८ पनि प्रस्तुत गरिने भएको छ ।
यसैगरी, आर्थिक विधेयक, २०७८ तथा नगरपालिका विनियोजन विधेयक, २०७८ पनि सभामा प्रस्तुत गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।

बैठकले पुर्व नगर प्रमुख एवं हाल यस नगरपालिकाको कार्यपालिका सदस्य तमबहादुर दरैकी धर्मपत्नी टिकाकुमारी दरैको उपचारकै क्रममा पोखरामा भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी