कांग्रेसको नेतृत्व सर्वसम्मत होला ?

  • ख-
  • ख+

विकास खनाल
दमौली:
बीपी जयन्तीका अवसरमा आयोजित भर्चुअल बैठकमा काग्रेस उपसभापति विमलेन्द्र निधीले पार्टी भित्रको शक्ति संघर्ष अन्त्य गर्दै एकताका साथ अघि बढ्नका लागि चौधो महाधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने भनि अगाडि सारेको प्रस्तावले काग्रेस भित्र नयाँ तरंग ल्याएको छ ।

निधिको प्रस्तावमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले सकारात्मक भने पछि कांग्रेसभित्र सहमतिका आधारमा नेतृत्व चयनको विषय झन पेचिलो बन्दै गईरहेको छ । निधीले कसको नेतृत्वमा सहमति कायम गर्ने भन्ने विषय नभने पनि यसले नयाँ खालको तरंग भने पार्टीमा आएको छ । केन्द्रमा उपसभापति निधीले सहमतिको आधारमा नेतृत्व चयन गर्ने बहस चलाई रहँदा तनहुँ काग्रेसमा भने यस अगाडि नै सहमतिका आधारमा नेतृत्व चयन सम्भव होला भनेर धेरै अगाडि नै बहस हुँदै आई रहेका थियो । तर बहस भए जस्तै तनहुँमा सहमतिका आधारमा काग्रेसको कति सम्भव होला ? त्यो विषय यतिखेर तनहुँ काग्रेसवृत्त र बाहिर राम्रै बहसको विषयका रुपमा आएको छ ।


अहिलेको दृश्यमा सहमति भएमा पहिलो नम्बरमा कार्यवाहक सभापतिका रुपमा रहेका जितप्रकाश आलेको देखिन्छ । तर वर्तमान पार्टी सभापति बैकुण्ठ न्यौपानेले दोहोरयाउन चाहेको खण्डमा आलेको पक्षमा सहमतिको वातावरण बन्न त्यति सहज देखिदैंन । वर्तमान सभापति न्यौपानेले दोहोरयाउने इच्छा जाहेर गर्दै गर्दा उनको पक्षमा सहमति होला किन नहोला ? यो विषय पनि कांग्रेसवृत्तमा रुचिपूर्वक हेरिनेछ ।


त्यस्तै, यस अगाडि दुई पटक सभापतिको प्रतिस्पर्धामा उत्रिएका प्राडा कृष्णप्रसाद गौतम समेत सहमति भएको खण्डमा नेतृत्व सम्हाल्ने मनस्थितीमा रहेको देखिन्छ । उनी हाल त्यही मनस्थितिका साथ गाउँ दौडाहामा पनि छन् । गौतमले आफ्ना पक्षमा सहमति बनाउन पनि राम्रै हिसाबले पापड पेल्नु पर्ने देखिन्छ । गौतमका अलावा कांग्रेसका पुराना नेता समुन्द्र गोदार पनि सहमतिका आधारमा अर्का उपयुक्त पात्र हुन् । तर गोदारका पक्षमा पनि सहमति कायम हुन त्यति सहज छैन ।


वर्तमान सचिवद्धय विश्व बाँस्तोला र लक्ष्मी आचार्य पनि सर्वसम्मत पाएको खण्डमा नेतृत्व सम्हाल्ने पक्षमा देखिन्छन् । सचिवद्वयको पक्षमा पनि सर्वसम्मत हुन त्यति सहज देखिंदैन । यी नेताका अलवा अन्य रामचन्द्र अधिकारी र झुलबहादुर आले पनि सम्भावित दाबेदार हुन् । तर उनीहरुका नाममा समेत सहमति सम्भावना हुने सम्भावना निकै न्यून देखिन्छ ।


तनहुँ काग्रेसको नेतृत्व चयन गर्ने विषयमा पार्टी केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराईका साथै अर्का केन्द्रीय सदस्य प्रदिप पौडेल अनि आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको भूमिकालाई निकै महत्वका साथ हेरिएको छ ।


व्यास नगरको नेतृत्वमा को ?
जिल्ला नेतृत्वको साथसाथै सदरमुकाम स्थित व्यास नगरको नेतृत्वमा समेत को आउला भनेर निकै चासोका साथ हेरिएको छ । कांग्रेसको नगर समितिमा रहेका मध्ये नगर सहसचिव डम्बर अधिकारी र कोषाध्यक्ष देवबहादुर थापाबाहेक सबै जनप्रतिनिधी निर्वाचित भएको अवस्था छ ।

जसले गर्दा हालको कार्य समितिबाट नेतृत्वमा आउनु पर्दा अधिकारी र थापा पहिलो दाबेदार देखिन्छन् ।

यी दुई मध्ये पनि अधिकारीले सक्रियता बढाइरहेका छन् । हालको नगर कार्य समितिका अलवा बाहिरका व्यक्तिहरु समेत नेतृत्वका लागि इच्छा जाहेर गरेको अवस्था छ । यस्तोमा सहमति नै हुने अवस्थामा नगरमा पनि कसको नाममा सहमति होला कार्यकर्ताले प्रतिक्षा गरेर बसेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी